शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–३ पाराबारीस्थित श्री भानु माध्यमिक विद्यालयमा दुईकोठे नव–निर्मित भवनको उद्घाटन तथा विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
भवनको नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गर्नुभएको हो । उद्घाटनका क्रममा नगरप्रमुख थोप्राले शैक्षिक तथा भौतिक विकासमा नगरपालिकाले अन्य विधा भन्दा शिक्षा क्षेत्रमा विशेष योजनाकासाथ काम गर्दै आएको उल्लेख गर्नुभयो ।
भवनको शिल्यान्यास सामाजिक तथा राजनीतिक समाजसेवी दाता मचिन्द्र शेर्मा र वडा अध्यक्ष भास्कर न्यौपानेले गर्नु भएको थियो ।
कार्यक्रममा लन्डन निवासी आर्थिक सहयोगदाता सुरेन्द्र दिम्माली राईको सहयोगमा कुल ५२ जना विद्यार्थीलाई न्यानो पोशाक वितरण गरिएको विद्यालयले जनाएको छ।
जसअन्तर्गत आधारभूत तह (कक्षा १–५) का ३३ जना र कक्षा (६–८) का १९ जना विद्यार्थी लाभान्वित भएका छन्। न्यानो कपडा वितरणको आर्थिक सहयोगमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ सुमित्रा बाङ्देल चेलीले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो।

कार्यक्रममा सामाजिक–राजनीतिक व्यक्तित्व खड्ग कार्कीले दुईकोठे भवन योजना कार्यान्वयनमा सहयोग गरेको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। वडा अध्यक्ष भास्कर न्यौपानेले विद्यालयमा विगतको तुलनामा उल्लेखनीय परिवर्तन देखिएको बताउँदै नगर प्रमुखसँग सहकार्य गरी समितिमार्फत गुणस्तरीय विकास योजनाहरू अघि बढाइने प्रतिबद्धता जनाउनुभयो।
विद्यालयका प्रधानाध्यापक गणेश चम्लाईले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै दाता, अतिथि, शिक्षक, अभिभावक तथा विद्यार्थी सबैलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले “हाम्रो विद्यालय, हामी बनाऔँ” भन्ने अभियान सुरु गरिएको उल्लेख गर्दै विद्यालयको व्यवस्थापकीय जिम्मेवारी र शैक्षिक गुणस्तर तीव्र रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सह–प्रधानाध्यापक कमलप्रसाद नेपालले विद्यालयको समग्र मुहार फेर्न समुदाय एकजुट हुन आवश्यक रहेको बताउँदै सबैको विश्वास र सहयोगको अपेक्षा गर्नुभयो।
साहित्यिक तथा बौद्धिक व्यक्तित्व सञ्जय राई वाम्बुलेले कार्यक्रमको सुरुदेखि समापनसम्म आकर्षक र प्रभावकारी रूपमा सञ्चालन गर्नुभएको थियो। कार्यक्रम भव्य, सभ्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको विद्यालयले जनाएको छ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेशबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक–अभिभावक संघका प्रतिनिधि, अभिभावक तथा विभिन्न सामाजिक–राजनीतिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।












