झापा । पत्रकारिता केवल पेशा होइन, निरन्तर संघर्ष, आत्मबल र सत्यको पक्षमा उभिने साहस हो—यही सन्देश झापामा सम्पन्न ‘अग्रजलाई सुनौँ’ कार्यक्रममा स्पष्ट रूपमा प्रतिध्वनित भयो।

प्रेस चौतारी नेपाल झापा शाखाको सभाहलमा सम्पन्न कार्यक्रममा अग्रज पत्रकार तथा साहित्यकार केशव आचार्यले पाँच दशक लामो पत्रकारिता यात्राका अनुभव, चुनौती र आत्मस्वीकृतिहरू साझा गर्नुभयो। उहाँका अनुभव केवल सम्झना होइनन्, नयाँ पुस्ताका लागि दिशानिर्देशक बने।

कार्यक्रममा बोल्दै आचार्यले पञ्चायती शासनदेखि प्रजातान्त्रिक व्यवस्थासम्मका कालखण्ड भोग्दै पत्रकारिताको स्वरूप बदलिँदै गए पनि “पत्रकारको धर्म कहिल्यै नबदलिनु पर्ने” स्पष्ट धारणा राख्नुभयो। डिजिटल युगमा प्रविधि बदलिए पनि सत्य, जिम्मेवारी र खोजमूलक पत्रकारिताको महत्व सधैँ उस्तै रहने उहाँको भनाइ थियो।

आचार्यले २०४७ सालपछि झापामा भएको एक राजनीतिक सभासम्बन्धी समाचार लेखनका कारण आफूमाथि लागेको ‘पित पत्रकारिता’को आरोपसमेत स्मरण गर्नुभयो। नेता भण्डारीको अभिव्यक्ति गलत आशयमा प्रस्तुत भएको अनुभूति भए पनि त्यसलाई स्वीकार गर्दै आत्मालोचना गर्न सक्ने साहस नै पत्रकारिताको आत्मा भएको उहाँले बताउनुभयो।

२०३४ सालदेखि स्थानीय पत्रपत्रिकामा कलम चलाउन थालेका आचार्यले २०३८ सालमा बीपी कोइरालासँग गरिएको ऐतिहासिक अन्तर्वार्ताको प्रसङ्ग सुनाउँदा कार्यक्रम हल भावुक बनेको थियो। साहित्यप्रेमका कारण बुबाबाट “काम नलाग्ने भयो” भन्ने टिप्पणी सुन्नुपरेको पीडा र त्यसलाई कर्मले जवाफ दिएको जीवनकथा उपस्थित पत्रकारहरूका लागि प्रेरणादायी बन्यो।

कार्यक्रममा प्रेस चौतारी नेपाल कोशी प्रदेश सह–इन्चार्ज गोपाल काफ्लेले झापाली पत्रकारिताको विकासमा केशव आचार्यको योगदान अतुलनीय रहेको उल्लेख गर्दै ‘अग्रजलाई सुनौँ’ कार्यक्रमलाई केन्द्रीय स्तरमै विस्तार गरिने जानकारी दिनुभयो।

प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेलले पत्रकारितामा देखिएका विकृति र विसङ्गतिबाट मुक्त हुँदै अग्रजले देखाएको बाटोमा हिँड्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमका अतिथि नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष सुव्रत न्यौपानेले नयाँ पुस्तालाई प्रेरणा, ऊर्जा र आत्मविश्वास दिन अग्रज पत्रकारका अनुभव सुन्ने उद्देश्यले कार्यक्रम परिकल्पना गरिएको बताउनुभयो।

प्रेस चौतारी झापा शाखाका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सुनिरा मैनालीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव युवराज आचार्यले गर्नुभएको थियो।

कार्यक्रममा एमाले बाह्रदशी गाउँपालिका अध्यक्ष अनिल सापकोटा, नारी सञ्चारगृह झापाका पदाधिकारी, अग्रज तथा युवा पत्रकार, साहित्यकार र सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

अझै पनि साहित्य र पत्रकारितामा सक्रिय केशव आचार्यको जीवनकथा केवल अतीतको कथा होइन, वर्तमान र भविष्यका पत्रकारहरूका लागि निरन्तर प्रेरणाको स्रोत बनेर रहिरहने देखिन्थ्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0