झापा । शिवसताक्षी नगरपालिका–२ स्थित मोती माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई जाडोयामलाई लक्षित गर्दै न्यानो कपडा वितरण गरिएको छ। आज विद्यालय परिसरमा आयोजित एक कार्यक्रममा विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गरिएको हो ।
कार्यक्रममा पूर्व सांसद एलपी साँवा लिम्बु, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा, नगर कार्यपालिका सदस्य गोमा रिजाल र कोपिला चिमोरिया मैनालीलगायतले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको थियो ।

सांसद साँवाले जाडोका समयमा विद्यार्थीहरुको स्वास्थ्य तथा नियमित ठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले न्यानो कपडा वितरण गरिएको बताउनु भयो । ग्रामिण क्षेत्रका बालबालिकाहरु प्राय विपन्न समुदायका छन् । उनीहरुलाई जाडो समयमा विद्यालयसम्म आउन सक्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व रहेको उहाँको भनाई थियो ।
मोती माध्यमिक विद्यालयका कक्षा १ देखि ८ सम्म अध्ययनरत १३९ जना विद्यार्थीहरुलाई विद्यालयको पोशाकसँग मिल्ने भित्री फर भएको बाक्लो लुगा वितरण गरिएको विद्यालयका प्रधानाध्यापक लोकबहादुर लावतीले जानकारी दिनुभयो ।

न्यानो कपडा संकल्प प्रतिष्ठानको व्यवस्थापनमा उपलब्ध गराइएको हो भने दमकस्थित ग्यारेज क्याफेका सञ्चालक लुका राईले आर्थिक सहयोग गर्नुभएको हो । कार्यक्रमका वक्ताहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका यस्ता सहयोगले विद्यार्थीहरुको मनोबल बढ्ने र शिक्षामा निरन्तरता कायम गर्न मद्दत पुग्ने उल्लेख गर्नु भएको थियो ।
कार्यक्रममा नगरप्रमुख मेगाहाङ्ग थोप्रा, ग्यारेज क्याफेका सञ्चालक लुका राईलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।













