शिवसताक्षी । झापा जिल्लाको कन्काई नगरपालिका–४ स्थित माईखोला पुल नजिक शंकास्पद वस्तु फेला परेको छ । पूर्व–पश्चिम राजमार्गको पूर्वपट्टि आज बिहान कालो झोलामा प्याक गरिएको अवस्थामा प्रेसर कुकर राखिएको र त्यसमार्फत तार निकालिएको देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार शंकास्पद वस्तु फेला परेको स्थान नजिकै सनातन सुरक्षा सेना नेपाल लेखिएको पर्चा पनि भेटिएको छ । पर्चामा नेपालमा राजसंस्था पुनःस्थापना र वैदिक सनातन हिन्दू राष्ट्र घोषणा नभएसम्म विरोध जारी राख्ने उल्लेख गरिएको छ ।
त्यसैगरी पर्चामा आगामी फागुन २१ गते हुने निर्वाचनलाई पूर्ण रूपमा बहिष्कार गर्ने निर्णय गरिएको उल्लेख छ । धर्मनिरपेक्ष तथा गणतान्त्रिक व्यवस्था नेपालको इतिहास, सभ्यता, संस्कृति र वैदिक सनातन पहिचानविरुद्ध थोपारिएको व्यवस्था भएको दाबी पर्चामा गरिएको छ । जनताको आस्था, परम्परा र राष्ट्रिय स्वाभिमानमाथि प्रहार गर्ने यस्ता संरचनालाई सनातन सुरक्षा सेना कुनै हालतमा स्वीकार नगर्ने उल्लेख गरिएको छ ।
घटनाको जानकारी पाएलगत्तै सुरक्षाका लागि क्षेत्र घेराबन्दी गरिएको र अरिदमन गण चारआलीबाट नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ प्रस्थान गरेको प्रहरीले जनाएको छ । शंकास्पद वस्तु निष्क्रिय पार्ने तयारी भइरहेको छ भने घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ ।












