काठमाडौं । रोल्पामा जिप दुर्घटना हुँदा दुई विद्यार्थीको मृत्यु भएको छ।

शनिबार राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेलेर फर्किँदै गरेका विद्यार्थी सवार ग.१ ज ६६६६ नम्बरको बोलेरो जिप शनिबार राति १० बजेतिर दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा सुनछहरी गाउँपालिका वडा नम्बर ४ स्युरीका १२ वर्षीया दीपा पुन र १२ वर्षकै सुनिल बिक रहेका छन्। घटनामा ९ जना विद्यार्थी घाइते भएका जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

सुनछहरी गाउँपालिका–१ सेरमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी लिएर सुनछहारी–४ स्युरीतर्फ जाँदै गरेको ग १ ज ६६६६ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्सपेक्टर सुनिल थापा नेपालीले जानकारी दिए।

घटनास्थलबाट उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर पुर्‍याउँदा चिकित्सकले उनीहरूलाई मृतक घोषणा गरेका इस्न्पेक्टर नेपालीले बताए । उनका अनुसार घाइतेलाई थप उपचारको लागि बुटवल सीटी अस्पताल लगिएको छ ।

दुर्घटनापछि प्रहरीले जिप चालक रोल्पाकै लुंग्री गाउँपालिका-७ का २५ वर्षीय मन्सुर घर्तीलाई पक्राउ गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0