झापा । झापा इनर्जी लिमिटेडले सौर्य ऊर्जाबाट उत्पादित विद्युत् बिक्रीमार्फत दुई वर्षको अवधिमा बाह्य ऋणको दायित्व १६ करोड रुपैयाँले घटाएको छ। १० मेगावाट क्षमताको सौर्य विद्युत् आयोजना सञ्चालनमा आएपछि कम्पनीले क्रमशः ऋण तिर्दै आएको हो।

ग्रीडमा आबद्ध सौर्य ऊर्जा परियोजना सञ्चालनका लागि झापा इनर्जीले माछापुछ्रे बैंक र हिमालयन बैंकबाट करिब ६० करोड रुपैयाँ ऋण लिएको थियो। हाल कम्पनीले १६ करोड रुपैयाँ ऋण भुक्तानी गरिसकेको र अब ४४ करोड रुपैयाँ मात्र बाँकी रहेको अध्यक्ष एलपी साँवा लिम्बूले जानकारी दिए।

झापाको शिवसताक्षी नगरपालिका–४ सालमारामा करिब २३ बिघा क्षेत्रफलमा फैलिएको सौर्य आयोजना सञ्चालनमा छ। आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट ७ रुपैयाँ ३० पैसाका दरले खरिद गर्दै आएको छ।

आयोजनाबाट उत्पादन भएको बिजुली बुलुचोक सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। सबस्टेसनसम्मको ९६६ मिटर लामो प्रसारण लाइन भने झापा इनर्जीले आफ्नै लगानीमा निर्माण गरेको हो।

कम्पनीका प्रबन्ध सञ्चालक सुवास भट्टराईका अनुसार उत्पादनको पहिलो वर्षमा मात्रै प्राधिकरणलाई ९ करोड १० लाख रुपैयाँ बराबरको विद्युत् बिक्री गरिएको थियो। आयोजना २०८० माघ महिनादेखि व्यवसायिक रूपमा सञ्चालनमा आएको हो। चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म ४ करोड ७० लाख रुपैयाँको बिजुली बिक्री भइसकेको उनले बताए।

यद्यपि, २०८१ असोजमा आएको बाढीका कारण आयोजना प्रभावित भएपछि पाँच महिनासम्म पूर्ण क्षमतामा उत्पादन हुन सकेन। त्यसैगरी गत जेठ महिनामा एउटा इन्भर्टरमा आगलागी हुँदा पनि विद्युत् उत्पादनमा असर परेको थियो।

झापा इनर्जीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सर्वसाधारण तथा कर्मचारीका लागि सेयर निष्कासन गरिसकेको छ। करिब ८९ करोड रुपैयाँको कुल लगानीमा आयोजना सञ्चालनमा आएको कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0