शिवसताक्षी । सताक्षीधाम साहित्य संगम दुधे, झापाको आयोजनामा “नव विश्वचेतनाको आधारः उत्तर आधुनिकतावाद र नेपाली कला–साहित्यको सिर्जनाको वर्तमान सन्दर्भ” विषयक एकदिने परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा उत्तर आधुनिकतावादका विशिष्ट व्याख्याता प्राध्यापक डा. गोविन्दराज भट्टराईले साहित्यिक रचनालाई विभिन्न प्रवृत्तिका आधारमा वर्गीकरण गर्दै उत्तर आधुनिकतावादको अवधारणा, यसको वैश्विक पृष्ठभूमि तथा नेपाली कला–साहित्यमा यसको प्रभावबारे गहन प्रकाश पार्नुभएको थियो। उहाँले उत्तर आधुनिकतावाद के हो भन्ने विषयमा सहभागीहरूमा जिज्ञासा र बौद्धिक चेतना जगाउने प्रयास गर्नुभएको सताक्षीधाम साहित्य संगमका अध्यक्ष उमानाथ दाहालले बताउनु भयो ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले सताक्षीधाम साहित्य संगमले सिमित श्रोत साधानका बीच महिनै पिछे साहित्य कार्यक्रम सञ्चालन गरेर साहित्य क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान दिइरहेको बताउनु भयो । उहाँले सबैलाई बदलिदो परिस्थिति अनुसार विश्व परिपेक्षमा नेपाली साहित्यको अध्ययन गरी नव सृजनामा लाग्न आवाहन गर्नुभयो । आफु साहित्य प्रेमी भएको तर साहित्यलाई सुन्न वा बुझन पर्याप्त समय नभएको बताउनु भयो ।

कार्यक्रममा नेपाली हाँस्य–व्यङ्ग्य साहित्यका मुर्धन्य सर्जक लक्ष्मण गाम्मागेले आफ्ना व्यङ्ग्यात्मक कवितामार्फत देशका वेथिति, सामाजिक विकृति र वर्तमान अवस्थामाथि तीक्ष्ण प्रहार गर्दै सहभागीहरूलाई मन्त्रमुग्ध बनाउनुभएको थियो।

परिचर्चाका क्रममा रुद्रमणि भट्टराई, यादव घिमिरे, लोकमणि गौतम, रमेश बराल, भिजन गुरागाईं, अनिल आचार्यलगायतले उत्तर आधुनिकतावादका विविध पक्ष, यसको सीमाना र सम्भावनाबारे आफ्ना जिज्ञासा तथा धारणा प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव यादवप्रसाद घिमिरेले गर्नुभएको थियो भने स्वागत मन्तव्य श्रीप्रसाद खरेलले राख्नुभएको थियो।

कार्यक्रमको आरम्भमा साहित्यकार वीरेन्द्र थोक्लिहाङले परिचर्चाकार प्राध्यापक डा. गोविन्दराज भट्टराईको संक्षिप्त परिचय प्रस्तुत गर्नुभएको थियो।

स्थानीय साहित्यप्रेमीहरूका साथै दमक, उर्लाबारी, गौरादह, सुरुङ्गा लगायत विभिन्न क्षेत्रबाट ७० जनाभन्दा बढी साहित्यप्रेमी, प्राध्यापक, सर्जक तथा बौद्धिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0