नवलपरासी । नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिकाका विपन्न परिवारका बालबालिकालाई जाडोयाममा न्यानो कपडा वितरण गरिएको छ ।
झापा जिल्लाको शिवसताक्षी नगरपालिका–१० स्थित श्री दीपेन्द्र आधारभूत विद्यालयका शिक्षक सुशील पोमुले प्रतापपुर गाउँपालिकाको भ्रमणका क्रममा करिब २० हजार रुपैयाँ बराबरको न्यानो कपडा बालबालिकालाई वितरण गर्नुभएको हो ।
शिक्षक पोमुले प्रतापपुर गाउँपालिकाका बालबालिकाको अवस्था अत्यन्तै दयनीय देखिएपछि सहयोग संकलन गरी न्यानो कपडा वितरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाबासीबाट संकलन गरिएको १० हजार रुपैयाँ र एन एस फाउण्डेशनको तर्फबाट प्राप्त १० हजार रुपैयाँ गरी जम्मा २० हजार रुपैयाँ बराबरको न्यानो कपडा वितरण गरिएको हो ।
बालबालिकाका लागि सहयोग संकलन अझै जारी रहेकाले आगामी दिनमा थप न्यानो कपडा तथा सहयोग सामग्री वितरण गर्ने तयारी भइरहेको शिक्षक पोमुले बताउनुभयो ।
विगत केही समयदेखि एन एस फाउण्डेशनमार्फत शिक्षक पोमुले सामाजिक सेवाका गतिविधिमा सक्रिय रहँदै आउनुभएको छ ।












