शिवसताक्षी । “सुरक्षित अप्रावासनको आधार, सूचना र सीपसहितको रोजगारी” भन्ने मूल नाराका साथ झापाको शिवसताक्षी नगरपालिकामा वैदेशिक रोजगारीबाट फर्किएका ३४ जनालाई ढाकाको कपडा बुन्ने तान तथा सिलाइ मेसिन वितरण गरिएको छ।
शिवसताक्षी नगरपालिकामा आयोजित एक कार्यक्रममा कारितास नेपालले विगत दुई वर्षदेखि सञ्चालन गर्दै आएको सुरक्षित अप्रावासनमार्फत मानव बेचबिखन विरुद्धको सवलीकरण परियोजना अन्तर्गत वडा नं. १, ४, ७, ८ र ११ का ३९० घण्टा अवधिको सीपमूलक तालिम पूरा गरेका ३४ जनालाई आवश्यक सामग्री हस्तान्तरण गरेको हो। कारितास नेपालले ३० जना र वडा ४ वडा कार्यालयहरुले १÷१ जनालाई सामाग्री हस्तान्तरण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

मिसियो जर्मनीको आर्थिक सहयोग तथा शिवसताक्षी नगरपालिकाको समन्वयमा सञ्चालन भएको उक्त परियोजनाको उद्देश्य वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउँदै फिर्ती आप्रवासीहरूलाई स्थानीय स्तरमै पुनःस्थापना र स्वरोजगारमा जोड्नु रहेको छ।
सामग्री हस्तान्तरण कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की लगायतले लाभग्राहीहरूलाई सामग्री वितरण गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै नगरप्रमुख थोप्राले प्राप्त सामग्रीको सदुपयोग गर्दै आयआर्जन वृद्धि गरी आत्मनिर्भर बन्न सहभागीहरूलाई आग्रह गर्नुभयो। उहाँले वितरण गरिएका सामग्री प्रयोग नगरी थन्क्याइएमा परियोजनाले फिर्ता लिई अन्य उद्यमशील बन्न चाहने नागरिकलाई प्रदान गरिने व्यवस्था रहेको पनि जानकारी दिनुभयो।
त्यस्तै नगर उपप्रमुख नरमाया कार्कीले कारितास नेपालले यसअघि पनि नगरमा विभिन्न सीपमूलक तालिम सञ्चालन गरी सहभागीको आवश्यकता र इच्छाअनुसार सामग्री हस्तान्तरण गर्दै आएको बताउनुभयो।
कार्यक्रम अन्तर्गत वडा नं. ८ र ११ का १५ जना लाभग्राहीलाई सिलाई मसिन इन्टरलक मेसिन र सिलाई पिको मसिन, वडा नं. ७ र ४ का १० जनालाई ढाकाको कपडा बुन्ने तान र वडा नम्बर १ का ९ जनालाई मोटर वाइरिङ्ग सम्वन्धी टुलबक्स वितरण गरिएको हो।

कारितास नेपाल प्रादेशिक कार्यालय दमकका प्रादेशिक प्रमुख शंकरकुमार पौडेलले सिलाई मेसीन प्राप्त गर्नु लाभग्राहीहरुले विद्यालयहरुमा सम्पर्क गरेर स्कुल पोशाक सिलाउन सकेत पनि आम्दानी श्रोत हुने र तान प्राप्त गर्ने लाभग्राहीहरुलाई बजारको समस्या नै नरहेको बताउनु भयो । उहाँका अनुसार ढाकाको माग बढ्दो छ । गुणस्तरीय सामाग्री उत्पादन गरे बजारको समस्या छैन ।
कार्यक्रममा शिवसताक्षी नगरपालिका लेखा शाखा प्रमुख प्रकाश योङहाङ, रोजगार शाखा प्रमुख विदुर तिम्सिना, वडा अध्यक्षहरू विष्णु प्रसाई, बहादुर आङबो, वडा सदस्य सुरेश राजवंशी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा कारितास नेपालका परियोजना वरिष्ठ अधिकृत हिमालयन अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन परियोजना परिचालक चिरञ्जीवी लुईटेलले गर्नुभएको थियो।












