सुनसरी । सुनसरीमा भएको सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। विराटनगरबाट टायल र मार्बल बोकेर सप्तरीको राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा उक्त दुर्घटना भएको हो।
हुलाकी राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहानर्सिङ गाउँपालिका–८ सोनियाहीस्थित सडकको घुम्तीमा आज बिहान करिब साढे ५ बजे ट्रक पल्टिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीका अनुसार ट्रक पल्टिँदा पछाडि सामानमाथि बसेका पाँच जना मजदुर टायल र मार्बलले थिचिएर घटनास्थलमै मृत्यु भएका हुन्।
दुर्घटनामा ज्यान गुमाउनेहरू सुनसरीको बर्जु गाउँपालिका–१ का बासिन्दा रहेका छन्। मृतकहरू ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङ रहेको प्रहरीले जनाएको छ। सबै मृतक गुरुङ समुदायका हुन्।
ट्रकमा चालकसहित कुल ९ जना सवार थिए। तीमध्ये चालकको क्याबिनमा चार जना र पछाडि सामानमाथि पाँच जना बसेका थिए। क्याबिनमा सवार चार जनामध्ये तीन जना सामान्य घाइते भएका छन्। घाइतेहरूको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ।
दुर्घटनापछि चालक फरार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काले जानकारी दिएका छन्।












