शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–३ पाराबारीस्थित श्री भानु माध्यमिक विद्यालयमा विद्यार्थीहरूका लागि न्यानो कपडा वितरण गरिएको छ । बुधबार विद्यालयका आधारभूततहमा अध्ययनरत ११५ जना विद्यार्थीलाई जाडोमा लगाउने ज्याकेट वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र नं. ४ का प्रतिनिधि सभा निर्वमान सदस्य एल.पी. साँवा लिम्बूले चिसो तथा प्रतिकूल मौसमले विद्यार्थीको सिकाइमा प्रत्यक्ष असर पार्ने भएकाले न्यानो कपडा वितरण अभियान सञ्चालन गरिएको बताउनुभयो। सोही अभियान अन्तर्गत श्री भानु माविको पूर्वप्राथमिक तहदेखि आधारभूत तह ( कक्षा १–५) सम्म अध्ययनरत ११५ जना विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरिएको उहाँले जानकारी दिनुभयो। आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक विकासका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता उहाँले अभिभावकसमक्ष व्यक्त गर्नुभयो।

कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष भास्कर न्यौपाने तथा शिवसताक्षी नगर कार्यपालिका सदस्य गोमा रिजालले शुभकामना मन्तव्य राख्दै विद्यालयको समग्र विकासमा सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताउनु भयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर राईले विद्यालयको भौतिक, प्रशासनिक तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अल्पकालीन र दीर्घकालीन योजनामार्फत अघि बढिरहेको उल्लेख गर्दै समुदाय, शिक्षक, विद्यार्थी तथा सरोकारवाला सबै एकजुट भएर विद्यालय विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो। साथै उहाँले स्थानीय, प्रदेश र संघीय सरकारको सहयोग लिएर विद्यालयलाई नमूना शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विद्यालयका प्रधानाध्यापक गणेश चम्लागाईंले “हाम्रो विद्यालय हामी बनाउँछौँ” अभियानको औपचारिक शुभारम्भ गर्दै भानु माविलाई ज्ञानको उज्यालो फैलाउने केन्द्रका रूपमा विकास गर्न सम्पूर्ण पक्ष सकारात्मक हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमको सन्दर्भ मन्तव्य कमलप्रसाद नेपालले राख्नुभएको थियो भने कार्यक्रमको स्वागत राधिका बोगटीले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सञ्जय राईले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0