शिवसताक्षी ।  झापा जिल्लाको शिवसताक्षी नगरपालिकामा जारी झापा जिल्ला स्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता अन्तर्गत शनिबार चार खेल सम्पन्न भएका छन्। शिवसताक्षी–११ स्थित दूधे रंगशालामा सम्पन्न खेलहरूमा बाह्रदशी गाउँपालिका, गौरादह नगरपालिका, मेचीनगरपालिका र गौरीगञ्ज गाउँपालिका विजयी भएका छन्।

पहिलो खेलमा बाह्रदशी गाउँपालिकाले कमल गाउँपालिकालाई सडन डेथमा ३–२ गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो। निर्धारित समयसम्म खेल २–२ गोलको बराबरीमा टुंगिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो। ट्राइबेकरमा पनि ३–३ गोलको बराबरी भएपछि सडन डेथमा बाह्रदशीले कमललाई पराजित गरेको आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ। उक्त खेलको म्यान अफ द म्याच बाह्रदशीका गोलकिपर गजेन्द्र थपलिया घोषित भए।

त्यसैगरी दोस्रो खेलमा गौरादह नगरपालिकाले कचनकवल गाउँपालिकालाई ३–१ गोलअन्तरले हराउँदै विजयी भएको छ। गौरादहका तर्फबाट खेलको ७, २७ र ३७ औं मिनेटमा क्रमशः कमल न्यौपाने, हेमचन्द्र भण्डारी र सुमन दाहालले गोल गरेका थिए। कचनकवलका लागि कुलदीप राजवंशीले एक गोल फर्काएका थिए।

तेस्रो खेलमा मेचीनगरपालिकाले अर्जुनधारा नगरपालिकालाई २–१ गोलअन्तरले पराजित गरेको छ। उक्त खेलको म्यान अफ द म्याच मेचीनगरका रोजित अली घोषित भए।

चौथो खेलमा गौरीगञ्ज गाउँपालिकाले विर्तामोड नगरपालिकालाई सडन डेथमा २–१ गोलअन्तरले हराउँदै जित हात पारेको छ। निर्धारित समयमा दुवै टिमबाट १–१ गोल भएपछि खेल ट्राइबेकरमा पुगेको थियो। ट्राइबेकरमा पनि ४–४ गोलको बराबरी भएपछि सडन डेथमा गौरीगञ्ज विजयी भएको हो। उक्त खेलको म्यान अफ द म्याच गौरीगञ्जका विशाल थापा घोषित भए।

प्रतियोगिताको विजेता टिमले नगद १ लाख रुपैयाँ र उपविजेता टिमले ५५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतियोगिताअन्तर्गत भोली आइतबार हुने खेल तालिका अनुसार पहिलो खेल: शिवसताक्षी नगरपालिका र दमक नगरपालिका, दोस्रो खेल: कनकाई नगरपालिका र गौरादह नगरपालिका, तेस्रो खेल: बाह्रदशी गाउँपालिका र हल्दिबारी गाउँपालिका, अन्तिम खेल: मेचीनगरपालिका र गौरीगञ्ज गाउँपालिका बीच हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0