शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर एन्जिला तुम्बापो लिम्बुलाई सम्मान गरेको छ। शनिबार दूधे रंगशालामा अन्तरपालिका स्तरीय कर्मचारी फुटबल प्रतियोगिताको क्रममा नगरप्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्कीलगायतले खेलाडी तुम्बापोलाई सम्मानपत्र प्रदान गर्नु भएको हो ।
गत कात्तिक महिनामा सम्पन्न झापा महिला गोल्डकपमा सहभागी हुँदै नगरस्तरीय दूधे रंगशालालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान पुर्याएको तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै देश र परिवारको नाम उच्च राख्न सफल भएकामा उनलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ।

सम्मान कार्यक्रममा नगरप्रमुख थोप्राले महिलाहरूले नेपाली फुटबलमा कोशेढुंगा सावित गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गरिरहेको उल्लेख गर्दै महिला फुटबलले देशको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। झापा महिला गोल्डकपकै समयमा सम्मान गर्ने योजना रहे पनि समय अभावका कारण शनिबार सम्मान गर्न पाइएको उहाँले जानकारी दिनुभयो।
कार्यक्रममा झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा, दूधे भेट्रान क्लबका अध्यक्ष सन्तोष नेम्बाङ, विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रमणि संग्रौलालगायतको उपस्थिति रहेको थियो।












