बिर्तामोड । आसन्न सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको सफल आयोजनाका लागि बिर्तामोड नगरपालिकाका जनप्रतिनिधि तथा झापा जिल्लाका सुरक्षा निकाय प्रमुखहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

बिर्तामोडमा आज आयोजित अन्तरक्रियामा सहभागी प्रतिनिधिहरूले प्रतियोगितालाई खेलकुद उत्सवको रूपमा मनाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूले प्रतियोगिताले जिल्लाको पहिचान बढाउने, युवालाई खेलकुदतर्फ आकर्षित गर्ने र स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने भएकाले सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका थिए। स्थानीय सरकारका प्रतिनिधिहरूले प्रतियोगिताको सफल आयोजनाका लागि सकरात्मक सहयोग र सहकार्यको वचनबद्धता समेत व्यक्त गरेका छन्।

कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले स्थानीय सरकार झापा गोल्डकपको अभिभावकीय भूमिकामा रहने स्पष्ट पारे। उनले गोल्डकप बिर्तामोडको गौरवको विषय भएकाले आवश्यक समन्वय, सहयोग र सहजीकरणमा नगरपालिका सधैं तयार रहने बताए। अन्तरक्रियामा उपप्रमुख संग्रौलासहित बिर्तामोड नगरपालिकाका वडा अध्यक्षहरू अग्निप्रसाद पाण्डे, किशोरकुमार पौडेल, मदन बुढाथोकी, राहुल शर्मा, रोहित प्रसाईं र दुर्योधन गुरुङको उपस्थिति रहेको थियो।

यसैगरी, सुरक्षा निकाय प्रमुखहरूसँगको अन्तरक्रियामा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले प्रतियोगिताको व्यवस्थापन पक्षलाई थप मजबुत बनाउन सुझाव दिए। उनले सुरक्षा, ट्राफिक व्यवस्थापन, दर्शक नियन्त्रण र आपतकालीन सेवामा विशेष ध्यान दिन आग्रह गर्दै आयोजक र सुरक्षा निकायबीचको समन्वय प्रभावकारी हुनुपर्ने बताए।

अन्तरक्रियामा सशस्त्र प्रहरीको पाथिभरा तालिम शिक्षालयका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रमेश पाण्डे, झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का, सशस्त्र प्रहरी २ नम्बर गणका प्रमुख तुलाबहादुर भण्डारी तथा इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख विजय श्रेष्ठले आ–आफ्ना सुझाव प्रस्तुत गर्दै प्रतियोगितालाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सुरक्षा निकाय पूर्ण रूपमा तयार रहेको बताएका थिए।

त्यसैगरी, झापा गोल्डकपले आजै प्रतियोगिताका सल्लाहकारहरूसँग समेत अन्तरक्रिया गरेको छ। सल्लाहकारहरूले प्रतियोगिताको गरिमा, विश्वसनीयता र प्रतिस्पर्धात्मक स्तर अझ अभिवृद्धि हुनेगरी सातौँ संस्करण सञ्चालन गर्न सुझाव दिएका छन्।

गोल्डकपका अध्यक्ष केदार गिरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने अन्तरक्रिया कार्यक्रमको सहजीकरण सचिवालय सदस्य केशव भट्टराईले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0