अर्जुनधारा । उत्कृष्ट पुनरागमन गर्दै भद्रपुर नगरपालिका अर्जुनधारामा जारी झापा जिल्ला पालिकास्तरीय यू–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

अर्जुनधारा खेलमैदानमा आज सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा भद्रपुरले कनकाई नगरपालिकालाई सडनडेथमा ६–५ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। पहिलो हाफमै २–० ले पछि परेको अवस्थालाई नाटकीय ढंगबाट उल्ट्याउँदै भद्रपुरले खेल आफ्नो पक्षमा पारेको हो।

खेलको सातौँ मिनेटमै कनकाईका आदित्य बानियाँले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि ५१औँ मिनेटमा आदित्यले नै दोस्रो गोल गर्दै कनकाईको अग्रता दोब्बर बनाए।

तर ५८औँ मिनेटमा भद्रपुरले पाएको पेनाल्टीमार्फत रतन किस्कुले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे। खेल सकिन करिब ३० सेकेन्ड बाँकी रहँदा भद्रपुरका विप्लव लिम्बूले आकर्षक हेडर गोल गरेपछि खेल बराबरीमा पुगेको थियो।

निर्धारित समयपछि टाइब्रेकरमा दुवै टोलीबाट ५–५ गोल भएपछि खेल सडनडेथमा प्रवेश गर्‍यो। सडनडेथमा कनकाईका अनिष दियालीको प्रहार भद्रपुरका गोलरक्षक शालिक सिवाकोटीले रोकेपछि भद्रपुरले रोमाञ्चक जित दर्ता गर्‍यो। उपाधिको प्रबल दाबेदार मानिएको कनकाई अन्तिम क्षणमा खेल सम्हाल्न नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ।

बराबरी गोल गर्दै टोलीलाई जिततर्फ डोहोर्‍याएका विप्लव लिम्बूले ‘प्लेयर अफ दी म्याच’ घोषित हुँदै नगद २ हजार ५ सय प्राप्त गरे।

शनिश्चरे फुटबल क्लबको आयोजना तथा अर्जुनधारा नगर खेलकुद विकास समितिको सहआयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा भोलि (शुक्रबार) कमल गाउँपालिका र बुद्धशान्ति गाउँपालिकाबीच पहिलो सेमिफाइनल खेल हुनेछ। प्रतियोगिताको फाइनल खेल माघ १९ गते हुने आयोजकले जनाएको छ।

९ वटा पालिकाको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद १ लाखसहित आकर्षक ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद ५० हजार पाउनेछ। यस्तै, सर्वोत्कृष्ट खेलाडीले नगद ७ हजार र विधागत उत्कृष्ट खेलाडीहरूले जनही ५–५ हजार प्राप्त गर्ने प्रतियोगिताका संयोजक टेकराज तिलिङले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0