शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० मा अवस्थित रेडरोज एकाडेमीले आफ्नो ३२ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ ।

शनिबार आयोजित कार्यक्रममा विद्यालयका सेवा निवृत्त शिक्षक तथा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्दै वार्षिकोत्सव सम्पन्न गरिएको हो । वार्षिकोत्सवको अवसर पारेर लामो समयदेखि शिक्षण सेवामा समर्पित रही अवकाश प्राप्त शिक्षिका पूर्णमाया राईलाई विशेष सम्मान गरिएको विद्यालयले जनाएको छ ।

त्यसैगरी विद्यालयले २०८१ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ट जीपीए हासिल गर्न सफल छात्र जोनिस श्रेष्ठ र छात्रा फुङ्गनाम सेवालाई नगद पुरस्कारसहित सम्मान गरेको छ । उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राले निजी क्षेत्रबाट सञ्चालित विद्यालयले अंग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको उल्लेख गर्दै विद्यालय परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले शिक्षाको गुणस्तर वृद्धि गर्न निजी तथा सामुदायिक क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष उमानाथ पराजुलीले विद्यालयले विगतमा भोगेका चुनौती, हाल गरिएको शैक्षिक सुधार तथा आगामी योजनाबारे जानकारी गराउनुभयो ।

वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य, कविता तथा नाटकजस्ता विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै दर्शकको मन जितेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक शेरबहादुर बानियाँ तथा विद्यार्थीहरू आवश तिम्सिना र रिकृति कार्कीले संयुक्त रूपमा गर्नुभएको थियो ।

कार्यक्रममा वडासदस्य दिपक पोख्रेल, शिवसताक्षी नगर प्याब्सन अध्यक्ष रामप्रसाद सुहाङ्ग, सतासीधाम जेसीज  वर्ष २०२६ का अध्यक्ष निरोज दुलाल, पुर्व अध्यक्ष पदमजंग कुँवर लगायत शिक्षाप्रेमी, शिक्षक तथा अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0