शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा आयोजित १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य समारोहका बीच उद्घाटन गरिएको छ। दुधे रंगशालामा आज शनिबार उद्घाटन भएको प्रतियोगिता आगामी सोमबारसम्म सञ्चालन हुनेछ।

नगर प्रमुख मेघाहाङ थोप्रा र उपप्रमुख नरमाया कार्कीले पानसमा दीप प्रज्वलन गरी प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको हो।

खेलकुदको प्रवर्द्धन गर्दै विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक क्षमता विकास गर्ने उद्देश्यले नगरस्तरीय खेलकुद प्रतियोगिता आयोजना गरिएको नगरपालिकाले जनाएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख थोप्राले खेलकुदले विद्यार्थीहरूको जीवनशैली अनुशासित, नैतिकवान र ऊर्जाशील बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। साथै भविष्यमा राष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा सहभागी हुन राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बलियो जगका रूपमा रहने उहाँको विश्वास रहेको छ।

नगरका सामुदायिक तथा संस्थागत विद्यालयहरूको सहभागितामा आयोजना गरिएको प्रतियोगितामा ४० विद्यालयका करिब ३०० विद्यार्थी विभिन्न खेल विधामा उपाधिका लागि प्रतिस्पर्धा गर्ने शिक्षा शाखा प्रमुख छवि ढकालले जानकारी दिनुभयो।

प्रतियोगितामा कबड्डी, भलिबल, एथलेटिक्स, कराँते, दौडलगायतका खेल विधाहरू समावेश गरिएको छ। यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा शारीरिक स्फूर्ति, अनुशासन तथा खेल भावना विकास गर्ने विश्वास लिइएको छ।

उद्घाटन समारोहमा कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए भने स्काउटर विद्यार्थीले मार्चपास गरेका थिए।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफे, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधि, खेलाडी, शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम सामाजिक विकास समितिकी सदस्य यशोदा विमलीको अध्यक्षतामा सम्पन्न भएको थियो। स्वागत मन्तव्य जनआदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक भुवानीप्रसाद थापाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नगर प्याब्सन अध्यक्ष रामप्रसाद सुहाङले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0