काठमाडौं । ओखलढुङ्गाको बोहोरेमा वृद्ध दम्पत्ती हत्या गर्न अभियुक्तहरुले काठमाडौंदेखि नै योजना बनाएर गएको पाइएको छ ।
गत माघ १२ गते ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका–६ बोहोरे स्थित ८१ वर्षीय चन्द्र बिक्रम राई र श्रीमती ८० वर्षीया चन्द्र माया राईको घरमा लुटपाट गर्न अभियुक्तहरुले काठमाडौंदेखि नै योजना बनाएर घटना घटाएको पाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । लुटपाटको क्रममा वृद्ध राई दम्पत्तिको हत्या भएको थियो ।
गत माघ १२ गते १० बजे राति राईआफ्नो घरको दोस्रो तलाको सुत्ने कोठाको खाटमा सिरक ओडिरहेको र उनको श्रीमती चन्द्र माया खाट छेउ भुईमा सिरक ओडेर मृत अवस्थामा भेटिएका थिए । बुढाबुढी मात्रै बस्ने उक्त घरमा बिहान ढोका नखुलेपछि छिमेकीले उनीहरुको घर गएर हेर्दा शंकास्पद अवस्थामा देखेपछि १३ गते प्रहरीलाई खबर गरेका थिए । यसअघि पनि ओखलढुंगामा श्रृखलाबद्ध रुपमा ३ जनाको हत्या भएको थियो ।
उक्त घटनाको अनुसन्धानको लागि कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको अनुसन्धान टोलीले संयुक्तरूपमा अनुसन्धान गरेको थियो । थप अनुसन्धानको लागि २० गते ब्यूरोबाट विज्ञ जनशक्ति खटाएको थियो ।
अनुसन्धान गर्दै जाँदा प्रहरीले घटनास्थलसहित विभिन्न स्थानबाट दसी र प्रमाणहरूको आधारमा सलंग्न २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ओखलढुङ्गा साविक भदौरे गा।वि।स। वडा नं ०४ हाल परिवर्तित चिशंखुगढी गाउँपालिका वडा नं ०६ बस्ने ३४ वर्षीय धन बहादुर राना मगर र अर्का १७ वर्षीय बालक रहेका छन् । प्रहरीले बालकको नाम ठेगाना खुलाएको छैन । हत्यामा सलंग्न मगर सोही गाउँको भएको खुलेको छ ।
अनुसन्धानको क्रममा मगर र अर्का बालक लुटपाट गर्ने योजना बनाई काठमाडौंदेखि ओखलढुंगा गई हत्या तथा लुटपाटमा संलग्न भई लुटपाट गरिएका दसी प्रमाणका सामानहरू प्रयोग तथा व्यवस्थापन गरेको खुलेको छ ।
उनीहरुलाई प्रहरीले गत शुक्रबार काठमाडौंको डल्लु, लखतीर्थ मार्गस्थित आफनै डेराकोठाबाट पक्राउ गरेको ब्यूरोका प्रवक्ता शिव कुमार श्रेष्ठले बताए ।
उनीहरुको डेराबाट चन्द्रमाया राईले प्रयोग गर्ने गरेको मोवाईल, पसलबाट लुटिएको एनटिसीको रिचार्ज कार्ड ५० को ६४ थान, १०० को ८२ थान र एनसीएलको रिचार्जकार्ड १००को १३ थान गरी १५९ थान रिचार्ज कार्ड, लुटिएको कानमा लगाउने सुन जस्तो देखिने पहेलो धातुको माडवाडी १ जोर र सिक्री, ४ थान सि माला र १२ हजार नगद बरामद भएको छ ।
त्यस्तै प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएको कोदालो बरामद गरेको छ । चन्द्र ब्रिकम राईले प्रयोग गर्ने मोवाइल भने काभ्रेपलाञ्चोक पनौती न।पा। वडा नं। ४ पशुपतिटोल स्थित अभियुक्तको आफन्तको डेराकोठाबाट शनिबार बरामद भएको छ । ब्यूरोका प्रवक्ता श्रेष्ठका अनुसार लुटपाट गर्ने उद्देश्यले काठमाडौंमै योजना बनाई घटनास्थल गई घटना घटाएको अनुसन्धानबाट खुलेको छ ।
उनीहरुले गाउँ घरमा अन्य व्यक्तिहरूले पहिचान गर्छन भनि रातको समयमा गएर घटना घटाई रातको समयमा नै त्यहाँबाट भागेको प्रवता श्रेष्ठले बताए ।
घटना घटाए पश्चात भाग्ने क्रममा गएको बाटो प्रयोग नगरी अर्को बाटो प्रयोग गरेको र बस टिकट काट्दा वास्तविक नाम ढाँटी नाम समेत परिवर्तन गरेको अनुसन्धानको क्रममा देखिएको उनको भनाइ छ ।
उनीहरुलाई काठमाडौं तथा काभ्रेपलाञ्चोकबाट वरामद गरिएका दसी र प्रमाणहरू हित थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा पठाइएको छ । श्रृखलाबद्ध रुपमा हया भएपछि स्थानीयहरु त्रसित भएका छन् ।।












