झापा । मिसियो म्युनिखको आर्थिक सहयोग तथा शिवसताक्षी नगरपालिकाको समन्वयमा कारितास नेपालद्वारा सञ्चालित सुरक्षित आप्रवासनमार्फत मानव बेचबिखनविरुद्धको सशक्तीकरण परियोजनाअन्तर्गत एकदिने सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
शिवसताक्षी नगरपालिका–७ लालपानी बजार तथा कनकाई नगरपालिका–५ बेनुबाजा आसपासका स्थानीय समुदायमा रहेका फिर्ती आप्रवासी, सम्भावित आप्रवासी तथा आप्रवासी परिवारका सदस्यलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रमको मुख्य उद्देश्य स्थानीयस्तरमै स्वरोजगारमुखी कार्यमा लाग्न प्रेरित गर्नुका साथै वैदेशिक रोजगारीमा जान चाहनेलाई सीप सिकेर दक्ष जनशक्ति बन्न र नेपाल सरकारले तोकेका आवश्यक मापदण्ड तथा प्रक्रियाको पालना गर्दै सुरक्षित रूपमा वैदेशिक रोजगारीमा जान अभिप्रेरित गर्नु रहेको थियो।

कार्यक्रममा वैदेशिक रोजगारीमा जानुअघि अपनाउनुपर्ने सावधानी, रोजगारीका क्रममा सुरक्षित रहन अपनाउनुपर्ने उपाय, स्थानीय तहअन्तर्गत रोजगार सेवा केन्द्रबाट प्राप्त हुने सेवा, श्रमसम्बन्धी व्यवस्था, सामाजिक सुरक्षा कोष, श्रमिक कल्याणकारी कोष तथा वैदेशिक रोजगारीका क्रममा आइपर्ने समस्याको समाधानका लागि नेपाल सरकारका सम्बन्धित नियामक निकायबाट प्राप्त हुने सेवाबारे जानकारी गराइएको थियो।
कार्यक्रम सहजीकरण गर्दै परियोजनाका सामाजिक परिचालक चिरञ्जीवी लुइटेलले स्वदेशमै स्वरोजगारका अवसर खोज्न र वैदेशिक रोजगारीमा जानैपर्ने अवस्था भए आवश्यक सीप हासिल गरी दक्ष जनशक्ति बनेर सबै प्रक्रिया तथा विषय बुझेर मात्र विदेश जानुपर्नेमा जोड दिनुभयो।
उहाँले वैदेशिक रोजगारीका क्रममा हुन सक्ने ठगी तथा अन्य जोखिमबाट जोगिन सरकारी मापदण्ड र कानुनी प्रक्रियाको पालना गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा स्थानीय समुदायका ५० जनाको सहभागिता रहेको थियो। मिसियो म्युनिखको आर्थिक सहयोग, शिवसताक्षी नगरपालिकाको समन्वय तथा कारितास नेपालको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो।












