झापा । झापा शिवसताक्षी नगरपालिका वडा नं. ९ स्थित चिल्लागढ धाममा महाशिवरात्री मेला लाग्ने भएको छ । शिवसताक्षीको त्रिधाममध्ये एक धाम चिल्लागढ धाम धार्मिक दृष्टिकोणले निकै महत्वका साथ हेरिने गरिएको छ ।
अघिल्ला वर्ष झै यस वर्ष पनि शिवरात्रीको अवसरमा शिव पुजासहित मेलाको आयोजना गरिएको चिल्लागढ धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष शिशिर तुम्बापोले जानकारी दिए । यही फागुन २ र ३ गते दुई दिन लाग्ने मेलामा ५० हजार दर्शक भित्र्याउने लक्ष्य लिएको अध्यक्ष तुम्बापोले जानकारी दिए ।
चिल्लागढ धामले महाभारतकालीन इतिहास बोकेको छ । पाँच हजार वर्ष पहिलो पाँच पाण्डवहरू वनबास गर्ने क्रममा यज्ञ गरेको स्थानको रूपमा चिल्लागढ धामलाई लिइन्छ ।
यहाँ विभिन्न जातजातिका मठमन्दिर निर्माणसँगै मौलिक घरसमेत निर्माण गरिएको छ । यस क्षेत्रमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको पूर्ण कदको सालिक निर्माण गरिएको छ । पछिल्लो समय संघीय सरकार, प्रदेश सरकार साथै शिवसताक्षी नगरपालिकाले पूर्वाधार विकासमा मूख्य भुमिका खेलेको पाइन्छ ।
मेलामा रोटेपिङ, कोलम्बस नौका, ड्रागन रेल, जम्पिङ, घोडालगायतका खेलतमासाहरू राखिने भएको छ । मेलामा विभिन्न जात जातिका भेषभुषा प्रदर्शनी, झाँकी, सबै समुदायका नृत्य तथा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विशेष प्रस्तुती रहने चिल्लागढ धार्मिक तथा पर्यटन विकास समितिले जनाएको छ । बेलुकी धाम क्षेत्रमा रहेको शिवालय मन्दिरमा कीर्तन प्रतियोगिता समेतको आयोजना गरिने बताइएको छ । यस वर्ष साधु सन्तहरुलाई समेत चिल्लागढ धाममा उपस्थित गराउने योजना रहेको अध्यक्ष तुम्बापोले बताए । मेलाको दोस्रो दिन राष्ट्रिय कलाकार शिव परियारको बजोड प्रस्तुती रहने छ । त्यस्तै स्थानीय कलाकारहरुको पनि उल्लेख्य उपस्थिति रहने आयोजकले जनाएको छ । साँझ भजन प्रतियोगिता राखिएको सचिव वेदनिधि अधिकारीले जानकारी दिए ।
धाम परिसरस्थित शिवालय मन्दिरमा ६ फिट अग्लो प्राकृतिक शिवलिङ्ग रहेको छ । चिल्लागढ पोखरी भित्र पोखरी हेर्नका लागि विभिन्न संरचनाहरु निर्माण भएका छन । त्यस्तै पोखरीको वरिपरी सीताराम मन्दिर, किरातेश्वर हाङ्साम माङ्हिम, भगवती माता मन्दिर, दुर्गा मन्दिरलगायतका मठमन्दिर रहेका छन् ।












