शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ५ का कृषक तुलसीराम सुवेदीले परम्परागत तरिकाले गुन्द्रक र सिन्की उत्पादन गर्दै त्यसलाई व्यावसायिक रूपमा विस्तार गरेका छन्। सुवेदीले उत्पादन गरेका गुन्द्रक तथा सिन्की नियमित रूपमा काठमाडौँसहितका सहर बजारमा बेरा–बेरा बिक्री हुँदै आएको छ।
शनिबार नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, कृषि शाखा प्रमुख रविन भट्टराईसहितको अनुगमन टोलीले सुवेदीले कृषि गर्दै आएको क्षेत्रको स्थलगत अनुगमन गरेको छ। अनुगमनका क्रममा कृषक सुवेदीले आफूले तीन विगाह जमिनमा तोरी, रायो र मुला खेती गर्दै आएको जानकारी दिनुभयो ।

उनका अनुसार तोरीको गुन्द्रक प्रतिकेजी करिब ५०० रुपैयाँसम्म र मुला वा रायोको गुन्द्रक प्रतिकेजी २५० रुपैयाँसम्म बिक्री हुँदै आएको छ। सहर बजार क्षेत्रमा गुन्द्रक र सिन्कीको माग निरन्तर बढ्दो क्रममा रहेको छ। विशेषगरी होटल, रेष्टुरेन्ट तथा घरायसी भान्सामा यसको व्यापक प्रयोग हुने भएकाले माग उच्च भएको कृषक सुवेदीको भनाइ छ।
कृषक सुवेदीले आफूले तीन बिघा जमिनको सदुपयोग गर्दै विगत पाँच वर्षदेखि मुला, रायो र तोरी उत्पादन गर्दै आएको जानकारी दिनुभयो। ती बालीको सागबाट गुन्द्रुक तथा सिन्की तयार गरी अमेरिका, अष्ट्रेलिया, क्यानाडालगायत विभिन्न देशमा बिक्री–वितरणका लागि पठाउँदै आएको उहाँले बताउनुभयो।

यदि मानिसमा तीव्र इच्छाशक्ति र त्यसलाई साकार पार्ने दृढ संकल्प हुन्छ भने परम्परागत अभ्यासलाई आधुनिक व्यवसायमा रूपान्तरण गर्न सकिन्छ भन्ने सुवेदीको कर्म र सफलताले प्रमाणित गरेको छ। उहाँको यो यात्राले आम युवा पुस्ताका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।
सुवेदीले आफ्नो सोचलाई व्यवहारमा उतार्न शिवसताक्षी नगरपालिका तथा कृषि शाखाबाट प्राप्त सहयोग, अनुदान र प्राविधिक सल्लाहले थप हौसला मिलेको बताउनुभयो। हाल उहाँको व्यवसायबाट ६–७ जनाले प्रत्यक्ष रोजगारीसमेत पाएका छन्।
आगामी दिनमा व्यवसायलाई अझ विस्तार गर्दै आफूले उत्पादन गरेको गुन्द्रुक र सिन्की शिवसताक्षी नगरपालिकाको लोगो सहित यहीँबाट प्याकेजिङ गरी स्थानीय मौलिकता र पहिचानलाई विश्व बजारसम्म पुर्याउने इच्छा रहेको सुवेदीले बताउनु भयो । त्यसका लागि नगरपालिकाबाट आवश्यक सहयोग र निरन्तर परामर्शको अपेक्षा रहेको उहाँको भनाई थियो ।
अनुगमनमा नगर उपप्रमुख कार्कीले यस्ता कर्मठ र आत्मनिर्भर कृषकहरूलाई नगरपालिकाको तर्फबाट आवश्यक सहयोग तथा प्रोत्साहन प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।
कृषक सुवेदीले गरेको निरन्तर परिश्रम, लगनशीलता र उद्यमशीलता युवा पुस्ताका लागि प्रेरणादायी उदाहरण बन्ने अपेक्षा गरिएको छ।












