झापा । नेपाल प्रहरीले झापामा ‘पैसा देखाएर’ ठगी गर्न आएको भारतीय गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ। सशस्त्र प्रहरीको शंकाका आधारमा नियन्त्रणमा लिइएको उक्त गिरोहलाई बुधबार सार्वजनिक गरिएको हो।

प्रहरीका अनुसार गिरोहलाई भद्रपुर नगरपालिका–८ घोडामारा एयरपोर्ट सडकखण्डबाट मंगलबार साँझ सशस्त्र प्रहरी बल नेपाल नं. २ हेडक्वार्टर गणले नियन्त्रणमा लिएको थियो। झापा प्रहरीका प्रवक्ता खगेन्द्र बहादुर खड्काका अनुसार सो क्षेत्रमा शंकास्पद गतिविधि देखिएपछि सशस्त्र प्रहरीले चेकजाँच गर्दा दुई वटा भारतीय नम्बर प्लेटका सवारी साधनमा सवार समूहलाई नियन्त्रणमा लिइएको हो।

प्रारम्भिक अनुसन्धानबाट उक्त समूह संगठित रूपमा ठगी गर्ने उद्देश्यले नेपाल प्रवेश गरेको खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये एक नेपालीसहित सात जना रहेका छन्। उनीहरूमा भारत पश्चिम बंगालका अरिन्दम धर (४५), दिपा भौमिक (३६), सुमन सरकार (३५), नुर कलाम शेख (३७), अबेद अली होसैन (५२), फारुक अज्मी (२०) तथा झापा कमल गाउँपालिका–६ का देवेन्द्र सापकोटा (४३) रहेका छन्।

प्रहरीका अनुसार गिरोहले नक्कली रूपमा ठूलो रकम देखाएर ठगी गर्ने योजना बनाएको थियो। उनीहरूले नोट आकारका सादा कागजका बण्डल तयार गरी माथि र तल सक्कली नोट राख्ने र त्यसको भिडियो तथा फोटो बनाएर चिनजानका व्यक्ति तथा व्यापारीहरूलाई पठाउने गरेका थिए। साथै सरकारी कागजातजस्ता देखिने कागज संलग्न गरी “कानुनी समस्याका कारण ठूलो रकम जफत भएको र जरिवाना तिर्न पैसा आवश्यक परेको” भन्ने सन्देश पठाएर ठगी गर्ने योजना बनाइएको खुलासा भएको छ।

प्रहरीले मेचीनगर–४ आमडाँगीस्थित लुकाइ राखिएको स्थानबाट २१ वटा टिनका बाक्सा र २३७ वटा नोट आकारका सादा कागजका बण्डल बरामद गरेको छ। ती बण्डललाई करिब १२ करोड रुपैयाँ बराबर देखिने गरी तयार गरिएको अनुमान गरिएको छ। यसअघि करिब डेढ महिनाअघि सोही गिरोहले मेचीनगर–४ कै एक होटलमा बसेर नक्कली रकमको फोटो तथा भिडियो तयार गरेको समेत अनुसन्धानबाट खुलेको छ।

प्रहरीले उनीहरूको साथबाट नेपाल सरकारको निशान छाप प्रयोग गरिएका नक्कली कागजात, कर चुक्ता प्रमाणपत्र, भन्सार सम्बन्धी कागजात, नक्कली प्रहरी परिचयपत्र, स्ट्याम्प प्याड, विभिन्न भारतीय परिचयपत्र तथा धेरै मोबाइल फोन बरामद गरेको जनाएको छ। साथै ‘प्रेस’ लेखिएको सवारी साधन समेत प्रयोग गरिएको पाइएको छ।

प्रहरीका अनुसार गिरोह भारतबाट काँकडभिट्टा नाका हुँदै झापा प्रवेश गरी चन्द्रगढी क्षेत्रमा सक्रिय भएको थियो। सीमावर्ती क्षेत्रमा यस्तै प्रकृतिका ठगी तथा स्क्याममार्फत नेपाल र भारतका नागरिकलाई ठग्ने प्रयास भइरहेको हुन सक्ने प्रहरीको आशंका छ।

जिल्ला प्रहरी कार्यालय झापाले यस समूहबाट ठगीमा परेको हुन सक्ने व्यक्तिहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको छ। पक्राउ परेका सबैमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत लिखत सम्बन्धी कसुरमा अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता खड्काले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0