काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टीले देश परिवर्तनका लागि तयार भएको र आगामी पाँच वर्ष कांग्रेसलाई विकासको जिम्मेवारी दिन आग्रह गरेका छन् । गण्डकी प्रदेशको पोखरामा आयोजित चुनावी सभामा उनले यस्तो बताएका हुन् ।

थापाले आसन्न निर्वाचनपछि देशमा दुई प्रकारको अतिवादले स्थान पाउन सक्ने चेतावनी दिएका छन् । उनले भने, ‘एउटा २३ भदौमा केही भएको छैन र भएन भन्ने, अनि अर्को २४ भदौमा आफै सिंहदबार जलाउने अनि जेलबाट भाग्नेहरू हावी हुनसक्ने अवस्थातिर ध्यान दिनुपर्छ।’

देशलाई गति दिन राजमार्ग होइन, असल चालक र टिम आवश्यक रहेको उनले बताए। ‘कोही भन्छन् म गाडीमा बसेपछि आफै कुद्छ । म भन्छु, एक्लैले देशको गाडी गुडाउन सक्दैन । त्यसका लागि टिम चाहिन्छ । स्पीडमा चलाउनुपर्ने तर दुर्घटना नगरी चलाउनुपर्छ,’ उनले भने।

थापाले कांग्रेस बदलिएर आएको र २०४६ सालपछि मन्त्री भएका सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने योजना सुनाए । यसको सुरुवात आफू र शेरबहादुर देउवाबाट हुने उनले स्पष्ट पारे। देश विकास कानुनभित्र रहेर मात्र हुने र कसैलाई ठोकेर वा बाँधेर नभई नियमअनुसार गर्नुपर्ने उनको भनाइ थियो ।

गण्डकी प्रदेशको विकासलाई परिणाममुखी बनाउन कांग्रेसले जितेपछि बैसाखभरी काम गर्ने र हरेक महिना प्रगति विवरण बुझाउने व्यवस्था लागू गरिने उनले बताए । ‘अब नयाँ भनेको कांग्रेस हो। पुरानो दल पनि कांग्रेस हो। यो नौजवानहरूले हाँकेको कांग्रेस हो। मत हाल्नुपर्ने कारण छ, नहाल्नुपर्ने कुनै कारण छैन,’ उनले भने ।

थापाले गल्ती नगरी कार्यसम्पादन गर्ने, एक पैसा पनि अनियमित नहुने र दोषीलाई कानुनअनुसार कारबाही हुने बताए । संविधान संशोधनका लागि सबै दलको सहकार्य आवश्यक रहेको र कार्यकर्ताहरूले हरेक घरमा गएर मतदातालाई बुझाउनुपर्ने उनले जोड दिए । कांग्रेसले तीनै क्षेत्रमा विजय हात पार्नुपर्ने उनको लक्ष्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0