झापा । योगेश भट्टराईले देशलाई “मियोबिनाको दाइ” जस्तो अस्थिर अवस्थामा पुग्न नदिन आगामी निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जित अनिवार्य रहेको बताएका छन्।
झापा क्षेत्र नं. ५ अन्तर्गत दमकमा आज प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा देखिएका चुनौतीहरूको सामना गर्न सक्षम राजनीतिक शक्ति सत्तामा पुग्नुपर्ने धारणा राखे।
उनले चुनावी मैदानमा देखिएका केही उम्मेदवार र दलप्रति संकेत गर्दै देशलाई जुवाको अखडा बनाउने प्रवृत्ति बढिरहेको आरोप लगाए। “केही पात्रहरू जिते छाती पिट्ने र हारे निराश हुने बाहेक स्पष्ट उद्देश्यविहीन देखिन्छन्,” उनले भने, “यस्ता प्रवृत्तिले देशलाई अझै अस्थिर बनाउने खतरा छ।”
भट्टराईले केही समूहले जनआन्दोलनको क्षतिको दोष जबर्जस्ती एमालेमाथि थोपर्न खोजेको आरोपसमेत लगाए। सो आन्दोलनका क्रममा देशलाई क्षति पुर्याउने गतिविधिमा संलग्न व्यक्तिहरू नै अहिले उम्मेदवार बनेको भन्दै उनले तिनीहरूको नैतिकतामाथि प्रश्न उठाए।
देशको स्थायित्व र समृद्धिका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै उनले झापा–५ बाट ओलीको जित अपरिहार्य भएको दाबी गरे।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले अघिल्लो निर्वाचनझैं यसपटक पनि फराकिलो मतान्तरसहित झापा–५ बाट एमालेको जित हुने विश्वास व्यक्त गरे। उनले ओलीलाई निरन्तर उम्मेदवारका रूपमा पाउनु यस क्षेत्रका मतदाताका लागि अवसर भएको बताए।
त्यस्तै, क्षेत्रीय चुनाव प्रचार उपसमिति संयोजक तथा केन्द्रीय सदस्य इन्द्र भण्डारीले व्यापक जनपरिचालन र मतदाताको सक्रियताले एमालेको जित सुनिश्चित भएको दाबी गरे।












