काठमाडौँ । बिहीबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढिरहेको छ। निर्वाचनमा आ-आफ्नो गृहजिल्लामा पुगेर मतदान गर्न सर्वसाधारणले उपत्यका छाड्ने क्रम तीव्र भएको छ।
ट्राफिक प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाह का अनुसार हालसम्म करिब सात लाख ५० हजारभन्दा बढी व्यक्तिले उपत्यका छाडिसकेका छन्। उनले बताए, ‘निर्वाचनका लागि उपत्यकाबाट बाहिरिने क्रम बुधबारसम्म जारी रहनेछ। सार्वजनिक यातायातका साधनहरू खचाखच भरिएका छन् भने निजी सवारीसाधनको आवागमन पनि उल्लेख्य रूपमा बढेको छ।’
यात्रुको चाप बढेसँगै मुख्य राजमार्ग, बसपार्क तथा उपत्यकाबाट बाहिरिने नाकाहरूमा सवारीसाधनको लामो लाम देखिएको छ। ट्राफिक व्यवस्थालाई थप सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक प्रहरीले आफ्नो जनशक्ति वृद्धि गरेको छ।
सवारीसाधनको चाप बढी हुने क्षेत्रमा अतिरिक्त ट्राफिक प्रहरी परिचालन गरिएको छ भने आवश्यकताअनुसार नजिकका प्रहरी इकाइसँग समन्वय गरी निगरानी बढाइएको छ। निर्वाचन सुरक्षामा खटिएको प्रहरी टोलीले पनि यातायात व्यवस्थापनमा सहयोग गरिरहेको छ।
यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै राजमार्गहरूमा गस्ती बढाइएको र आवश्यक क्षेत्रहरूमा विशेष निगरानी गरिएको प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीले सर्वसाधारणलाई सुरक्षित र संयमित यात्रा गर्न, क्षमताभन्दा बढी यात्रु नचढाउन, ट्राफिक नियमको पालना गर्न तथा लामो दूरीको यात्रा अघि सवारीसाधनको अवस्था र सडक अवस्थाबारे जानकारी लिन सुझाव दिएको छ।












