काठमाडौं  । हेभिवेट उम्मेदवारको भिडन्तले इलेक्सन इपिसेन्टर झापामा चुनावी सुरक्षा कडा पारिएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र निर्वाचन प्रहरीसहित नौ हजार सुरक्षाकर्मी परिचालन गरेको छ ।

नेपाल प्रहरीले झापाको सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरी झापा र इलामको समन्वय गर्ने गरी प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीसहित ठुलो संख्यामा प्रहरी परिचालन गरेको छ । २८५ मतदानस्थल रहेको झापामा ४३ वटा मतदानस्थल समान्य, १४७ संवेदनशील र ९५ वटा अतिसंवेदनशील मतदानस्थल छन् । सुरक्षाका लागि मतदानस्थलमा जाने कर्मचारीसँगै सुरक्षाकर्मी पनि परिचालन गरिसकिएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । नेपाल प्रहरी पहिलो, सशस्त्र दोस्रो र नेपाली सेनाले तेस्रो घेरामा रहेर सुरक्षा दिनेछ ।

उनका अनुसार तीनै तहका सुरक्षा निकायले संयुक्त गस्ती र पेट्रोलिङ गरिरहेका छन् । झापा निर्वाचन शान्तिपूर्ण हुने प्रजिअ गेलालको दाबी छ । ‘हामी ढुक्क भएर मत खसाल्न आउन नागरिकलाई आग्रह गर्दछौँ,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काका अनुसार अन्य समयभन्दा निर्वाचनका समयमा दोब्बर प्रहरी परिचालन गरिएको छ । तीनवटै सुरक्षा निकायले एकीकृत सुरक्षा योजना २०८२ अनुसार काम गरिरहेको उनले बताए । ‘एकीकृत सुरक्षा योजनाअनुसार हामी संयुक्त परिचालन भएका छौँ,’ उनले भने, ‘नियमित संख्याभन्दा दोब्बर बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । पर्याप्त मात्रामा थप सुरक्षाकर्मी खटाइएको छ । झापाको सुरक्षा व्यवस्था पर्याप्त छ ।’

झापा ५ मा एमाले अध्यक्ष केपी ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ आमनेसामने छन् । एमालेले ओली र रास्वपाले शाहलाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा होमिएका छन् । त्यस्तै, झापा २ मा निवर्तमान सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना चुनावी मैदानमा छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि झापाबाटै उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0