झापा । प्रतिनिधिसभा सदस्यका लागि आज सम्पन्न निर्वाचनमा झापा जिल्लामा समग्रमा ६४ दशमलव २४ प्रतिशत मत खसेको छ। शान्तिपूर्ण वातावरणमा सम्पन्न मतदानपछि अहिले मतपेटिका संकलन तथा गणनाको तयारी तीव्र पारिएको छ।

जिल्ला प्रशासन कार्यालय झापाका अनुसार झापा निर्वाचन क्षेत्र नं. १ मा ६३ दशमलव ९५ प्रतिशत, क्षेत्र नं. २ मा ६५ दशमलव २५ प्रतिशत, क्षेत्र नं. ३ मा ६२ दशमलव ७९ प्रतिशत, क्षेत्र नं. ४ मा ६३ दशमलव ८५ प्रतिशत तथा क्षेत्र नं. ५ मा ६५ दशमलव ११ प्रतिशत मत खसेको जनाएको छ।

जिल्लाभर सात लाख १३ हजार ५३७ जना मतदाता रहेकोमा चार लाख ५८ हजार ३६२ मत खसेको तथ्यांक सार्वजनिक गरिएको छ। विभिन्न मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताको उत्साहजनक सहभागिता देखिएको थियो भने केही स्थानमा सामान्य प्राविधिक समस्या बाहेक मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रशासनले जनाएको छ।

मतदान सम्पन्न भएसँगै मतपेटिका सुरक्षित रूपमा संकलन गरी सम्बन्धित निर्वाचन क्षेत्रका तोकिएका मतगणना स्थलमा पु¥याइँदैछ। प्रत्येक निर्वाचन क्षेत्रमा राजनीतिक दल तथा उम्मेद्वारका प्रतिनिधिहरूको बैठक बस्नेछ र सर्वसम्मत निर्णयपछि मतगणना प्रक्रिया औपचारिक रूपमा सुरु गरिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0