काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
भारी मतान्तरले पराजित भएपछि पनि ओलीले लोकतान्त्रिक संस्कार देखाउँदै सामाजिक सञ्जालमार्फत बालेनलाई बधाई दिएका हुन्। उनले आफ्नो फेसबुक पेजमा भावनात्मक सन्देश लेख्दै बालेनको आगामी पाँच वर्षे यात्रा सफल रहोस् भन्ने कामना गरेका छन्।
“बालेन बाबु, विजयका लागि तपाईंलाई हार्दिक बधाई,” ओलीले लेखेका छन्, । ओली र बालेनबीचको पुरानो आत्मीय सम्बन्धको स्मरण गराउँदै उनले यसअघि काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि आफूले बालेनलाई तबला उपहार दिएको प्रसंग पनि उल्लेख गरेका छन्। सोही सम्झनालाई झल्काउने तस्बिर पुनः फेसबुकमा साझा गर्दै उनले शुभकामना प्रकट गरेका हुन्।
राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर लोकतान्त्रिक संस्कार र आपसी सम्मानको सन्देश दिने ओलीको यो सन्देश सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा आएको छ।












