काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना भइरहेको जनाएको छ । आयोगका अनुसार हालसम्म प्रत्यक्षतर्फ १५५ निर्वाचन क्षेत्रको नतिजा घोषणा भइसकेको छ भने बाँकी १० निर्वाचन क्षेत्रको मतगणना जारी छ ।
भोलि दिउँसोसम्ममा सबै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतगणना सम्पन्न हुने अपेक्षा गरिएको छ । समानुपातिकतर्फ खसेको १ करोड ९ लाख मत मध्ये हाल सम्म ५० लाख (करीब ४६ प्रतिशत) को मतगणना सम्पन्न भएको आयोगले जनाएको छ ।
२७ फागुन बिहानसम्म समानुपातिकतर्फको सबै मतगणना भइसक्ने अपेक्षा गरिएको छ । समानुपातिकतर्फको मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसदको संख्या निर्धारण गर्ने आयोगको तयारी छ ।
आयोगका अनुसार निर्धारित संख्यामा समानुपातिक कलष्टर अनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ ।
दलहरूले बन्दसूची भित्रबाट नाम सिफारिस गरे पछि सो नामावली समावेशी कलष्टर बमोजिम मिले नमिलेको रूजु गरी समानुपातिकतर्फका निर्वाचित सांसदको नाम एकिन गरी प्रमाणपत्र उपलब्ध गराउने आयोगले जनाएको छ । ५ चैत्रभित्र यी सबै काम सम्पन्न गरिसक्ने लक्ष्य सहित आयोगले काम गरिरहेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।












