काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्व लम्बिँदै गए विश्वव्यापी रूपमा भोकमरीको संकट भयावह बन्न सक्ने भन्दै संयुक्त राष्ट्रसङ्घले गम्भीर चेतावनी दिएको छ।
संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको विश्व खाद्य कार्यक्रमले मङ्गलबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा द्वन्द्व जुनसम्म जारी रहे थप ४ करोड ५० लाख मानिस तीव्र भोकमरीतर्फ धकेलिन सक्ने जनाएको हो।
डब्ल्यूएफपीका उपकार्यकारी निर्देशक कार्ल स्काउका अनुसार अहिले नै विश्वभर करिब ३ करोड १९ लाख मानिस गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका छन्। ‘यदि द्वन्द्व जारी रह्यो भने भोकमरीको स्तर अहिलेसम्मकै उच्च बिन्दुमा पुग्नेछ, जुन अत्यन्तै भयावह अवस्था हुनेछ,’ उनले चेतावनी दिए।
मध्यपूर्वमा युद्ध सुरु भएको तीन हप्तामै सयौँ मानिसको ज्यान गइसकेको छ। इरानले इजरायल तथा खाडी राष्ट्रहरूमाथि प्रतिशोधात्मक आक्रमण सुरु गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साथै, इजरायलले लेबनानमा हेजबुल्लाहसँग पनि संघर्ष जारी राखेको छ।
स्काउका अनुसार युद्ध सुरु हुनुअघि नै विश्व खाद्य प्रणाली दबाबमा थियो। ‘फेब्रुअरी २८ अघि नै विश्व ‘व्यापक खाद्य संकट’को अवस्थामा थियो,’ उनले भने, ‘चरम मौसमी घटना, द्वन्द्व र विभिन्न क्षेत्रमा भोकमरी घोषणा भइरहँदा अवस्था झन् जटिल बनेको छ।’
उनले मध्यपूर्वको द्वन्द्वले डब्ल्यूएफपीको राहत कार्य झन् कठिन र महँगो बनाएको बताए। बढ्दो इन्धन मूल्य र लामो आपूर्ति मार्गका कारण खाद्य सामग्री ढुवानीमा समस्या देखिएको र सञ्चालन खर्च उल्लेख्य रूपमा बढेको उनको भनाइ छ। संयुक्त राष्ट्रसङ्घले तत्काल युद्धविराम र मानवीय सहायता पहुँच सहज बनाउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ।












