शिवसताक्षी । साना किसान कृषि सहकारी संस्था लिमिटेड, शिवसताक्षी–२ धरमपुरको २७औँ वार्षिककोत्सव सोमबार सम्पन्न भएको छ।
शिवसताक्षी वडा नम्बर–२ का सामाजिक व्यक्तित्व यमनाथ चिमरीयाको प्रमुख आतिथ्यता तथा सहकारीकी कावा अध्यक्ष हरिकुमारी आचार्य खनालको सभापतित्वमा २७औँ वार्षिककोत्सव सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चिमरीयाले गाउँघरका साना किसानहरूको जीवनस्तर उकास्न सहकारी संस्थाहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यसको सुदृढीकरणका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए।
स्थानीय साना किसानहरूको पूँजी संकलन गरी उनीहरूको आर्थिक अवस्था सुधार गर्न उल्लेखनीय योगदान पुर्याउँदै साना किसान कृषि सहकारी संस्थाले जनाएको छ । संस्थाले वार्षिकोत्सवकै अवसर पारेर कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने तीन जना शेयर सदस्यलाई सम्मान गरेको छ ।

संस्थाले आर्थिक तरलताको चुनौतीपूर्ण अवस्थाका बीच पनि आफ्ना सदस्यहरूलाई राहत र प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको जनाएको छ । कार्यक्रममा पशुपालन गर्दै आएका २६ जना शेयर सदस्य किसानलाई गोठ सुधार कार्यक्रमअन्तर्गत जनही १५ हजार रुपैयाँका दरले कुल ३ लाख ९० हजार रुपैयाँ अनुदान वितरण गरिएको संस्थाकी व्यवस्थापक उमा रिजालले जानकारी दिइन्।
त्यस्तै, पशुपालक किसान तारादेवी ढकाललाई ४० हजार रुपैयाँ पशु बीमा बापतको क्षतिपूर्ति रकम प्रदान गरिएको छ। वार्षिक उत्सवकै अवसरमा चार जना सुत्केरी शेयर सदस्यलाई समेत नगद सहयोग वितरण गरिएको थियो।
कार्यक्रममा सिपमूलक, आयमूलक, उत्पादनमूलक तथा स्वरोजगारमुखी किसान समूह छनोट गरी तीन वटा कृषक समूहलाई कृषि औजार समेत वितरण गरिएको सहकारीले जनाएको छ।
सहकारीको निरन्तर सहयोग र कार्यक्रमहरूको प्रभावका कारण निर्वाहमुखी खेती प्रणालीमा सीमित किसानहरू अहिले व्यवसायिक पशुपालनतर्फ उन्मुख भएका छन्। सहकारीबाट कर्जा लिएर गाई–भैंसी पालन गर्दै आएका किसान देउमान गुरुङका अनुसार उनले मासिक करिब २५ हजार रुपैयाँ बराबरको दूध बिक्री गर्दै आएका छन्।
कार्यक्रममा सञ्चालक समितिका सदस्य सुवास सापकोटाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन संस्थाकी व्यवस्थापक उमा रिजालले गरेकी थिइन्।












