काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले शपथ लिएको २४ घण्टाभित्रै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि देशको राजनीतिक वातावरण तनावग्रस्त बनेको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेले देशव्यापी आन्दोलन घोषणा गरेको छ भने सामाजिक सञ्जालमा पनि यस विषयमा तीव्र बहस भइरहेको छ ।
सरकारका प्रवक्ता तथा शिक्षा, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार पक्राउ कुनै व्यक्तिविशेष लक्षित नभई सरकारको वाचापत्र कार्यान्वयनको प्रक्रिया अन्तर्गत गरिएको हो । उनले मतदाताबाट प्राप्त म्यान्डेटअनुसार सरकार अघि बढिरहेको र कार्की आयोगको प्रतिवेदन कार्यान्वयन प्राथमिकतामा परेको बताए ।
मन्त्रिपरिषद्को निर्णयअनुसार उक्त प्रतिवेदन कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको र त्यसैका आधारमा प्रक्रिया अगाडि बढाइएको उनले स्पष्ट पारे । “यो हतारो वा प्रतिशोध होइन, प्रतिबद्धता कार्यान्वयन हो,” उनले भने ।
पक्राउप्रति उठेका पूर्वाग्रह र प्रतिशोधका आरोपबारे उनले अस्वीकार गर्दै राज्यका सबै निकायलाई निष्पक्ष रूपमा काम गर्न पूर्ण स्वतन्त्रता दिइएको दाबी गरे । यदि कानुनी आधार नपुगेमा वा थप अनुसन्धान आवश्यक परेमा सम्बन्धित निकाय र अदालतले आफ्नो निर्णय गर्ने उनको भनाइ छ ।
सुरक्षा निकायका सम्बन्धमा भने संवेदनशीलता ध्यानमा राख्दै थप अनुसन्धानका लागि अलग समिति गठन गरिने बताइएको छ । अन्य व्यक्तिको हकमा भने प्रतिवेदनअनुसार तत्काल प्रक्रिया अघि बढाइने सरकारको तयारी छ ।
सरकारले प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्याउँदै कानुनी प्रक्रिया र विधिको शासनलाई प्राथमिकता दिने जनाएको छ ।












