काठमाडौं । आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने व्यवस्था लागू भएको छ । यसअघि टोकन प्रणालीमार्फत दैनिक सीमित संख्यामा मात्र श्रम स्वीकृति प्रदान गरिँदै आएकामा अब उक्त प्रणाली हटाइएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले टोकन प्रणाली अन्त्य गरी सोही दिन श्रम स्वीकृति दिने व्यवस्था गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको थियो । त्यसअनुसार विभागले आवेदन दिएकै दिन स्वीकृति प्रदान गर्ने प्रक्रिया सुरु गरेको हो ।
विभागका अनुसार आवश्यक कागजात पूरा भएमा सोही दिन श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति प्रदान गरिनेछ । यसअघि आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपक कुमार साहको उपस्थितिमा बसेको बैठकले सुधारका कार्यक्रम अघि बढाउने निर्णय गरेको थियो।
सरकारले चैत १३ गते सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमाथि छलफल गर्दै श्रम तथा रोजगार क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन तथा श्रमिकको हकहित संरक्षण गर्न विभिन्न कार्ययोजना कार्यान्वयन गर्न मन्त्री साहले निर्देशन दिएका थिए।










