काठमाडौं । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा पश्चिम एसियाका विभिन्न मुलुकमा हालसम्म ११ जना नेपाली पक्राउ परेका छन्।
पक्राउ पर्नेमा यूएईमा ३ जना, साउदी अरेबियामा ४ जना, कतारमा ३ जना र ओमानमा १ जना रहेका परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।
युद्धग्रस्त पश्चिम एसियाली देशहरूले सामाजिक सञ्जालमा भ्रमपूर्ण सन्देश फैलाउने कार्यमा कडाइ गर्दै आएका छन्। ती देशले सामाजिक सञ्जालमा अफवाह फैलाउने व्यक्तिलाई पक्राउ गर्नुदेखि डिपोर्ट गर्नुसम्मका कारबाही गर्ने बताएका छन्।
नेपालका ती नागरिकहरू सामाजिक सञ्जालमा गलत फोटो तथा भिडियो सार्वजनिक गरेको आरोपमा पक्राउ परेका हुन्।
इजरायल–अमेरिका र इरानबीचको युद्धको क्रममा खाडी मुलुकमा आएको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको फोटो वा भिडियो सार्वजनिक गर्ने, गलत अफवाह फैलाउने कार्यमा उनीहरू संलग्न भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।












