बिर्तामोड । झापा बिर्तामोड नगरपालिकाको न्यायिक समितिले स्थानीय तहमा हुने विवाद निरुपणमा सक्रियता देखाएको छ । नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक नगेन्द्र प्रसाद संग्रौलाका अनुसार पछिल्ला चार आर्थिक वर्षमा न्यायिक समितिमा दर्ता भएका उजुरीहरूमध्ये अधिकांशको सफल फछ्र्यौट भएको छ ।

चार वर्षको प्रगति विवरण
न्यायिक समितिले उपलब्ध गराएको तथ्यांक अनुसार आ.ब. २०७९-८० मा जम्मा १४७ मुद्दा दर्ता भएका थिए । जसमध्ये ८९ मुद्दा फछ्र्यौट भएका छन् भने २५ वटा मुद्दा अन्य निकायमा पठाइएको थियो । बाँकी ३३ मुद्दा अर्को वर्षका लागि जिम्मेवारी सरेका थिए ।

आ.ब. २०८०-८१ मा कुल १४३ मुद्दा दर्ता भएकोमा ९६ वटाको सफल फछ्र्यौट भएको छ भने २१ मुद्दा अन्य निकायमा सिफारिस गरिएका छन् । यस्तै, आ.ब. २०८१-८२ मा १३४ मुद्दा दर्ता भए । जसमध्ये ९७ वटाको फछ्र्यौट भयो, १ वटामा निर्णय सुनाइयो भने १५ वटा अन्य निकायमा पठाइयो । २२ मुद्दा जिम्मेवारी सरेको थियो ।

चालु आर्थिक वर्ष २०८२-०८३ मा ११७ मुद्दा दर्ता भएका छन् । जसमध्ये हालसम्म २९ वटा फछ्र्यौट भइसकेको न्यायिक समिति संयोजक संग्रौलाको भनाई छ । यस अवधिमा ७ वटामा मिलापत्र र १ वटामा निर्णय भएको छ । ५५ वटा मुद्दा प्रक्रियामै रहेका छन् ।

चालु आर्थिक वर्षको प्रगतिबारे जानकारी दिँदै संयोजक संग्रौलाले जेनजी आन्दोलन र चाडपर्वहरूका कारण मुद्दा हेर्ने क्रममा केही ढिलाइ भएको बताए । ‘चाडबाड र सुरक्षा संवेदनशीलताका कारण केही समय मुद्दाको सुनुवाइमा सुस्तता देखिए पनि अहिले हामी तीव्र गतिमा काम गरिरहेका छौँ,’ उनले भने ।

वडास्तरमै मेलमिलापलाई प्राथमिकता
न्यायिक समितिमा आउने मुद्दा बाहेक अन्य सामान्य विवादहरूलाई वडास्तरमै समाधान गर्ने नीति नगरपालिकाले लिएको छ । संयोजक संग्रौलाका अनुसार न्यायिक समितिमा नआएका अन्य विवादहरू वडा मेलमिलाप केन्द्रहरू मार्फत नै मेलमिलाप गराउने कार्य भइरहेको छ । यसले जनतालाई न्यायका लागि नगरपालिका धाइरहनु पर्ने बाध्यता कम भएको छ र स्थानीयस्तरमै सौहार्दपूर्ण वातावरणमा विवाद समाधान भइरहेका छन् ।

बिर्तामोड नगरपालिकाले न्यायिक समितिलाई थप प्रभावकारी बनाउन र सर्वसाधारणको न्यायमा पहुँच पु¥याउन मेलमिलापकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने कार्यलाई पनि निरन्तरता दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0