शिवसताक्षी। झापाको शिवसताक्षी नगरपालिकाले आफ्नो १७ औं नगरसभा सम्पन्न गरेको छ। नगरपालिकाको सभाहलमा आयोजित नगरसभाले विभिन्न वडाका योजनाहरु संशोधन गर्दै महत्वपूर्ण निर्णयहरू पारित गरेको हो।
नगरसभामा बोल्दै नगरप्रमुख मेगाहाङ्ग थोप्राले हिउँदे अधिवेशन समयमै गर्नुपर्ने भए पनि विभिन्न परिस्थितिका कारण ढिलाइ भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार देशमा भएको जेनजी आन्दोलन, निर्वाचन तथा सरकार परिवर्तनका कारण संघीय सरकारबाट प्राप्त हुने बजेटमा समेत कटौती भएको छ।
नगरप्रमुख थोप्राले वित्तीय समानिकरण तर्फको १७ करोड ५५ लाख रुपैयाँ बजेटमध्ये १ करोड ८५ लाख रुपैयाँ कटौती भएको जानकारी दिनुभयो। उहाँले वडाध्यक्ष तथा वडा सदस्यहरुलाई अघिल्लो नगरसभाबाट खर्च नभएको बजेटलाई आवश्यकताका आधारमा संशोधन गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभयो।

उहाँले नगर अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण खरिदमा ठूलो लगानी गरिने र नगरबासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नगरभामा चालु आ.व. २०८२/०८३ को फागुन मसान्तसम्म यस कार्यालयको सञ्चित कोष खातामा कुल रु. ५६१३२८७८०।– प्राप्त भएको जानकारी गराइएको थियो ।
खर्च प्रगति तर्फ चालु आर्थिक वर्ष २०८२/०८३ का लागि कुल विनियोजित बजेट रु। ९३७४५४८४१।- मध्ये चालु खर्च तर्फ रु। ६१५४५२४१०।– एवम पूँजीगत खर्च तर्फ रु. ३२२३४०५४१।– विनियोजन गरिएको थियो । जसमध्ये चालु तर्फ रु. ३१३६३२४०३।– तथा पूँजीगत तर्फ रु। ५२४५२५७०।– खर्च भएको छ ।

उक्त खर्च चालु तर्फ विनियोजित बजेटको ५१.०७ प्रतिशत तथा पूँजीगत तर्फ विनियोजित बजेटको १६.२१ प्रतिशत हुन आउँछ जुन कुल विनियोजित बजेटको ३९.०४ प्रतिशत हो ।
संघीय सरकार तथा प्रदेश सरकारबाट शर्तगत, विशेष तथा समपुरक अनुदान तर्फ हस्तान्तरणित योजना तथा कार्यक्रम अन्तर्गत चालु आ।व। का लागि विनियोजित बजेट रु। ९३७४५४८४१।– मध्ये हालसम्म रु. ३६६०८७९३१।– खर्च गरिएको छ । उक्त खर्च रकम विनियोजित बजेटको ३९.०४ प्रतिशत रहेको छ ।
नगर उपप्रमुख नरमाया कार्कीले कार्यक्रम तथा बजेटको समीक्षा गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयो। उहाँले चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा मार्फत “समृद्ध नगर, सुखी नेपाली नगरबासी” बनाउने प्रतिबद्धताअनुसार आवश्यकताका आधारमा नयाँ योजना तथा कार्यक्रमहरू संशोधित बजेटमा समावेश गरिएको जानकारी दिनुभयो।
नगरसभाले नगर तथा ११ वटै वडाका केही बजेट शीर्षकहरू परिवर्तन गर्दै रकमान्तर गरी अनुमोदन गरेको छ।
नगरसभामा वडासदस्यहरू यसोदा विमली, भोजकुमार ढकाल, पूजा नेपाली, सुमनलाल शाह, पर्शुराम अधिकारी र प्रेम भुजलले आ–आफ्ना वडाका समस्या तथा सुझावहरू प्रस्तुत गरेका थिए।
नगरप्रमुख मेगाहाङ्ग थोप्राको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफेले गर्नुभएको थियो।












