आजको नेपाली समाजमा यदि कुनै प्रश्न सबैभन्दा धेरै सोधिन्छ भने, त्यो निश्चय नै हो—
‎“विवाह कहिले गर्ने?”

‎यो प्रश्न यति सामान्य भइसकेको छ कि मानौँ नमस्कारपछि सोध्नै पर्ने संस्कार जस्तै।
‎कसैले “तिमी कस्तो छौ?” सोध्न भुल्न सक्छ, तर “बिहे कहिले गर्ने?” छुटाउनै सक्दैन।
‎घरबाट निस्किनुहोस्—छिमेकीको आँखा तपाईंको उमेरमा अडिन्छ।

‎आफन्त भेटिनुहोस्—तपाईंको काम, संघर्ष, उपलब्धि सबै ओझेलमा पर्छन, सीधा प्रश्न आउँछ—
‎“अब त विवाह गरिसक्नु पर्ने हो नि!”

‎साथीभाइ भेट्दा पनि अवस्था फरक हुँदैन।
‎जसले बिहे गरिसके, उनीहरू अनुभवी सल्लाहकार बन्छन्।
‎जसले गरेका छैनन्, उनीहरू पनि समाजकै प्रतिनिधि भएर सोध्न थाल्छन्।
‎यस्तो लाग्न थाल्छ—

‎मानौँ, मेरो जिन्दगी एउटा खुला किताब हो,
‎र त्यसको सबैभन्दा महत्त्वपूर्ण अध्याय “बिहे” नै हो।
‎तर प्रश्न उठ्छ—

✍️राजेश खड्का

‎के साँच्चै विवाह नै जिन्दगीको अन्तिम लक्ष्य हो?
‎हाम्रो समाजमा बिहेलाई एउटा अनिवार्य चरणका रूपमा हेरिन्छ।उमेर पुगेपछि, पढाइ सकेपछि, जागिरमा लागेपछि—अब अर्को “टिक मार्क” भनेको बिहे।मानौँ, जीवन एउटा सूची हो, जसमा एकपछि अर्को काम पूरा गर्नुपर्छ तर जीवन कुनै

checklist होइन। ‎यो त अनुभव, संघर्ष, सपना र स्वतन्त्र निर्णयहरूको यात्रा हो।बिहे एउटा सुन्दर संस्था हो, तर यो बाध्यता होइन। ‎यो सही समयमा, सही व्यक्तिसँग, सही मनस्थितिमा गरियो भने मात्र यसको अर्थ हुन्छ।

‎नत्र, हतारमा लिइएको निर्णयले जीवनभर असर पार्न सक्छ।अझ हाम्रो समाजको अर्को रोचक पक्ष त के छ भने—आज जसले “विवाह कहिले गर्ने?” भनेर सोध्छ, ‎उही व्यक्ति भोलि “बच्चाको योजना कहिले गर्ने?” भनेर प्रतिप्रश्न तेर्साउन तयार हुन्छ।त्यसपछि “दोस्रो बच्चा कहिले?”यसरी जीवनका प्रत्येक मोडमा प्रश्नहरूको श्रृंखला एकपछि अर्को गर्दै अगाडि बढ्छन । प्रश्न सोधाइमा अल्पविराम लाग्न सक्ला तर ढुक्क हुनुहोस् पुर्णविराम लाग्दैन।यी र यस्ता प्रश्नको श्रृङखला तपाई हाम्रो जीवनमा कहिल्यै सकिँदैन।यसबाट यो बुझ्नुस कि—‎समाज तपाईको जवाफबाट कहिल्यै तृप्त हुँदैन।तपाईंले जे गरे पनि, अर्को प्रश्न तयार नै हुन्छ त्यसैले, यो र यस्ता प्रश्नबाट आत्तिन आवश्यक छैन किनकि यसलाई हाँसोमा उडाउन पनि सकिन्छ,समझदारीका साथ टार्न पनि सकिन्छ,
‎वा गम्भीर रूपमा आफ्नै मनसँग सोध्न पनि सकिन्छ।

‎किनकि ,विवाह भनेको अरूलाई देखाउन गरिने कार्यक्रम होइन।यो त दुई व्यक्तिको समझदारी, सम्मान र सहयात्राको निर्णय हो।तपाईं तयार हुनुहुन्छ कि हुनुहुन्न ? ‎तपाईं जिम्मेवारी लिन सक्नुहुन्छ कि सक्नुहुन्न ?

‎तपाईंले आफ्नो जीवनको दिशा स्पष्ट पार्नुभएको छ कि छैन? यी प्रश्नहरूको उत्तर स्पष्ट भएपछि मात्र ‎“विवाह कहिले गर्ने?” भन्ने प्रश्नको अर्थ रहन्छ।त्यसकारण तपाई  हामी कोही कसैलाई विवाह कहिले गर्छौ वा गर्नुहुन्छ भनेर सोध्न लागेको छौ भने जरुर यी कुराहरुलाई गहन रुपमा मनन गरि अरुलाई प्रश्न सोध्ने कि नसोध्ने भनी  निर्णय लिन सक्छौ नत्र,यो केवल समाजले दोहोर्याइरहने एउटा अर्थहीन वाक्यमा मात्र सिमित रहन्छ।अन्ततः, ‎बिहेको सही समय घडीले होइन,‎मनले तय गर्छ।अत:‎अरूको हतारले होइन, ‎आफ्नो तयारी, सोच र आत्मविश्वासले नै ‎बिहेको सही समय निर्धारण गर्नु उचित हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
4
+1
0
+1
0