झापा । काफ्ले समाज झापाले ज्येष्ठ बन्धु तथा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ। शनिबार माइधारस्थित कोटिहोममा आयोजित काफ्ले समाज झापाको तेस्रो जिल्ला तथा दोस्रो कोशी प्रदेश अधिवेशनको अवसरमा ८० वर्षमाथिका ७ जना ज्येष्ठ माता–पितालाई सम्मान गरिएको हो।
सम्मानित हुनेहरूमा भद्रपुरका इश्वर काफ्ले, हल्दीबारीका पदमकुमार काफ्ले, दमकका चिरञ्जीवि काफ्ले, अर्जुनधाराकी कृष्णमाया काफ्ले, गौरादहका खिलबहादुर काफ्ले, कनकाईका देवीप्रसाद काफ्ले र मेचीनगरका माधव काफ्ले रहेका छन्। उनीहरूलाई दोसल्ला तथा नगदसहित सम्मान गरिएको काफ्ले समाज झापाले जनाएको छ।
यसै अवसरमा कक्षा १२ मा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरूलाई पनि सम्मान गरिएको छ। काफ्ले बन्धुका सन्तानमध्ये उत्कृष्ट नतिजा ल्याउने दमकका चन्द्रप्रसाद काफ्ले, जानुका काफ्लेको छोरी निशा काफ्ले तथा शिवसताक्षी निवासी नीरप्रसाद काफ्ले र कमला काफ्लेका छोरा निश्चल काफ्लेलाई सम्मान गरिएको हो। उनीहरूलाई मुकुन्द स्मृति अक्षयकोषमार्फत जनही २,५०० रुपैयाँ नगद प्रदान गरिएको थियो।

अधिवेशनले काफ्ले समाज झापाको नयाँ कार्यसमिति पनि चयन गरेको छ। गौरादहका नारायणप्रसाद काफ्ले अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। उपाध्यक्षमा हल्दीबारीका हेमराज काफ्ले, महिला उपाध्यक्षमा दमककी दुर्गाकुमारी काफ्ले, सचिवमा अर्जुनधाराका रमेशकुमार काफ्ले, सह–सचिवमा भद्रपुरका रोहित काफ्ले र कोषाध्यक्षमा मेचीनगरका होमनाथ काफ्ले चयन भएका छन्। सदस्यहरूमा मेचीनगरका कमल काफ्ले, बिर्तामोडका पोष्टप्रसाद काफ्ले लगायत चयन भएको समाजले जनाएको छ।
त्यसैगरी प्रदेश कार्यसमितिमा गौरादहका चिन्तामणि काफ्ले अध्यक्षमा चयन भएका छन् भने उपाध्यक्षमा झापाका तुम्मनाथ काफ्ले र ताप्लेजुङका होमप्रसाद काफ्लेको नेतृत्वमा प्रदेश समिति सर्वसम्मत रूपमा गठन गरिएको छ।
कार्यक्रममा जिल्ला अध्यक्ष गोपाल काफ्लेले अध्यक्षीय तथा संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष रमेशकुमार काफ्लेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। अधिवेशनमा करिब २०० जना काफ्ले बन्धुहरूको उपस्थिति रहेको थियो।












