काठमाडौं । अमेरिका र इरानबीच भएको बहुप्रतिक्षित शान्ति वार्ता कुनै ठोस सहमति बिना नै टुङ्गिएको छ। लगातार २१ घण्टासम्म चलेको सघन छलफलपछि अमेरिकी पक्षले इरान आफ्ना सर्तहरूमा सहमत हुन नसकेको भन्दै वार्ता निष्कर्षविहीन भएको घोषणा गरेको हो।
वार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिकाले आफ्नो ‘रेड लाइन’ स्पष्ट रूपमा राखेको तर इरानले त्यसलाई स्वीकार नगरेको बताए।
उनले भने, “हामीले निकै लामो समय खर्चिएर लचिलो बन्ने प्रयास गर्यौँ, तर इरानी पक्ष हाम्रा सर्तहरू मान्न तयार भएन।”
भान्सका अनुसार अमेरिकाले इरानसमक्ष आफ्नो ‘अन्तिम र उत्कृष्ट’ प्रस्ताव प्रस्तुत गरिसकेको छ र अब त्यसलाई स्वीकार गर्ने वा नगर्ने निर्णय इरानकै हातमा रहेको छ।
अमेरिकी टोलीमा डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर र मध्यपूर्वका लागि विशेष दूत स्टिभ विट्कफ समेत सहभागी थिए।
अमेरिकी पक्षले इरानको आणविक कार्यक्रम पूर्ण रूपमा रोक्नु नै आफ्नो मुख्य लक्ष्य रहेको दोहोर्याएको छ। भान्सले इरानले भविष्यमा कहिल्यै परमाणु हतियार नबनाउने स्पष्ट प्रतिबद्धता नजनाएसम्म कुनै सम्झौता सम्भव नरहेको बताए।
यद्यपि, वार्ता विफल भए पनि पाकिस्तानको मध्यस्थकर्ता भूमिकाको अमेरिकाले प्रशंसा गरेको छ। भान्सले पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख आसिम मुनिरलाई धन्यवाद दिँदै वार्तामा भएको असफलता पाकिस्तानका कारण नभएको स्पष्ट पारे।
यता, इरानको विदेश मन्त्रालयले भने अमेरिकाले अत्यधिक र गैरकानुनी मागहरू राखेको आरोप लगाएको छ। इरानले आफ्नो वैध अधिकार र स्वार्थको सम्मान हुनुपर्ने अडान दोहोर्याएको छ।
दुवै पक्ष आफ्ना अडानमा अडिग रहेपछि मध्यपूर्वको तनाव अन्त्य गर्ने यो महत्वपूर्ण प्रयास तत्कालका लागि असफल भएको विश्लेषण गरिएको छ।












