शिवसताक्षी । शिवसताक्षी नगरपालिका अन्तर्गत चालु आर्थिक वर्षमा सञ्चालन भइरहेको बालमैत्री स्थानीय शासन कार्यक्रम प्रभावकारी रूपमा अघि बढाइएको छ। सोही कार्यक्रम अन्तर्गत नगर कार्यपालिकाबाट वडा नम्बर ४ र ५ लाई नमूना क्षेत्रका रूपमा छनोट गरिएको छ।

कार्यक्रमको सफल कार्यान्वयनका लागि हाल महिला स्वास्थ्य स्वयंसेविकाहरू मार्फत घरघरमा पुगेर आवश्यक सूचना संकलन कार्य तीव्र रूपमा भइरहेको छ। बालबालिकाको अवस्था, स्वास्थ्य, शिक्षा तथा संरक्षणसँग सम्बन्धित तथ्यांक संकलन गरी समग्र अवस्थाको यथार्थ चित्र तयार पार्ने उद्देश्य राखिएको नगरपालिकाले जनाएको छ।

यसैक्रममा आज वडा तहमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा जनप्रतिनिधि, सरोकारवाला निकाय, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा बालमैत्री स्थानीय शासनका अवधारणा, उद्देश्य तथा कार्यान्वयन प्रक्रियाबारे विस्तृत जानकारी गराइएको थियो।

अभिमुखीकरण कार्यक्रमकै अवसरमा आवश्यक विभिन्न समितिहरू समेत गठन गरिएको छ। ती समितिहरूले आगामी दिनमा बालमैत्री कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन, अनुगमन तथा मूल्यांकन गर्ने जिम्मेवारी वहन गर्ने जनाइएको छ।

नगरपालिकाले बालबालिकाको समग्र विकास, संरक्षण र सहभागितालाई सुनिश्चित गर्दै बालमैत्री स्थानीय शासन स्थापनातर्फ महत्वपूर्ण कदम चालिएको उल्लेख गरेको छ। साथै, कार्यक्रमलाई सफल बनाउन सबै सरोकारवालाको सक्रिय सहयोग आवश्यक रहेकोमा जोड दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0