शिवसताक्षी । युवा मैत्री सीप विकास कार्यक्रम अन्तर्गत शिवसताक्षीको दूधेमा बारिस्टा तथा बार टेन्डर तालिमको उद्घाटन गरिएको छ। शनिबार आयोजित कार्यक्रममा नगरप्रमुख मेगाहाङ्ग थोप्राले तालिमको औपचारिक उद्घाटन गर्नुभयो।

युवाहरूलाई ज्ञान, सीप र स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको नगरप्रमुख थोप्राले बताउनुभयो। नगरपालिकाका अनुसार बारिस्टा तालिममा ४० जना र बार टेन्डर तालिममा ३० जनाको सहभागिता रहेको छ। दुवै तालिम १५ दिनसम्म सञ्चालन हुने जनाइएको छ।

नगरपालिकाले सबै वडामा युवा तथा महिला लक्षित कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। सोही क्रममा वडा नम्बर ९ मा २० जनालाई १० दिने सिलाई मेसिन मर्मत तालिम सम्पन्न भइसकेको छ भने वडा नम्बर ६ मा पनि २० जना महिलाहरूलाई सोही प्रकृतिको तालिम सफलतापूर्वक सम्पन्न गरिएको छ।

यसैगरी, वडा नम्बर २ मा वडा नम्बर १, २ र ३ बाट सिफारिस भएका ३० जना युवाहरूलाई १५ दिने बारिस्टा तालिम प्रदान गरिएको छ, जसले युवाहरूलाई स्वरोजगारतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।

वडा नम्बर २ र ३ मा महिला सचेतना कार्यक्रम अन्तर्गत २०० जना महिलाहरूलाई पाँच स्थानमा एक–एक दिने तालिम सञ्चालन गरी सचेतना अभिवृद्धि गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

त्यसैगरी वडा नम्बर ४ र ५ मा बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यक्रम अन्तर्गत सम्पूर्ण घरधुरीमा सर्वेक्षण कार्य भइरहेको छ। साथै वडा नम्बर ४, ५, ६ र ७ लाई समेटेर एक दिवसीय थप तालिम सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ।

यसबीच, महिलाहरूका लागि सञ्चालन गरिएको ड्राइभिङ तालिम कार्यक्रम उद्घाटन भई हाल सञ्चालनमा रहेको छ।

अघिल्लो आर्थिक वर्षमा लघु उद्यम विकास कार्यक्रम अन्तर्गत तालिम लिएका सहभागीहरूलाई लक्षित गर्दै वडा नम्बर ५ को लागत सहभागितामा थप उन्नत तालिम सञ्चालन गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ।

स्थानीय तहले यस्ता कार्यक्रममार्फत रोजगारी सिर्जना गर्दै आर्थिक सशक्तीकरणमा टेवा पुग्ने विश्वास लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0