झापा । नेपाल सेफ सोसाइटी तथा अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीको संयुक्त आयोजनामा ‘सेकेन्ड नेशनल कुलिनरी च्यालेन्ज कम्पिटिसन २०२६’ दमकमा आयोजना हुने भएको छ।

आयोजकका अनुसार, प्रतियोगिता दमकस्थित पाथिभरा कुलिनरी आर्ट कलेजमा आगामी मे १५ र १६ (जेठ १–२) गते दुई दिनसम्म सञ्चालन हुनेछ।

कार्यक्रमअन्तर्गत खुला कुलिनरी प्रतिस्पर्धा, विभिन्न फुड कम्पिटिसन तथा फुड फेस्टिभल आयोजना गरिनेछ। प्रतियोगिताको मुख्य उद्देश्य देशभरका रैथाने तथा लोपोन्मुख नेपाली परिकारहरूको संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै नेपाली कला, संस्कृति र ग्यास्ट्रोनोमीको जगेर्ना गर्नु रहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा देश तथा विदेशमा कार्यरत नेपाली शेफ, पाककला विद्यार्थी, होटल तथा रेस्टुरेन्ट व्यवसायी तथा पाककलामा रुचि राख्ने व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीमार्फत करिब ४५ देशबाट शेफहरूको सहभागिता रहने जनाइएको छ।

कार्यक्रमस्थलमा ५० भन्दा बढी फुड स्टलहरू रहनेछन्, जहाँ विभिन्न रैथाने तथा परम्परागत नेपाली परिकारहरू प्रदर्शन गरिनेछ।

प्रतियोगितालाई थप आकर्षक बनाउन आयोजकले नगद पुरस्कारको व्यवस्था गरेको छ। जसअनुसार प्रथम स्थान हासिल गर्ने प्रतियोगीले रु. १,००,०००, द्वितीयले रु. ७५,००० तथा तृतीयले रु. ५०,००० पुरस्कार प्राप्त गर्नेछन्।

यसका साथै, प्रतियोगितामा सहभागी इच्छुक प्रतिभाहरूका लागि जॉब प्लेसमेन्ट (रोजगार अवसर) को अवधारणा समेत ल्याइएको आयोजकले जनाएको छ, जसले प्रतिभाशाली शेफहरूलाई भविष्यमा रोजगारीका अवसरसँग जोड्ने लक्ष्य राखेको छ।

नेपाल सेफ सोसाइटीका महासचिव दीपक कार्कीले देशभर तथा विदेशमा रहेका इच्छुक सहभागीहरूलाई प्रतियोगितामा सहभागी भई आफ्नो प्रतिभा प्रदर्शन गर्न आह्वान गरेका छन्।

आयोजकका अनुसार, यस कार्यक्रमले नेपाली खानाको अन्तर्राष्ट्रिय प्रवर्द्धन, पाककला पर्यटनको विकास तथा नेपाली ग्यास्ट्रोनोमीलाई विश्वमञ्चमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0