उदयपुर  । चौदण्डीगढी नगरपालिका–७ बेल्टारस्थित शान्ति चोकमा मंगलबार बिहान भएको भीषण आगलागीमा परी दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख राजन चापागाईं का अनुसार आगलागीमा परी ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्काको मृत्यु भएको हो। आगोमा जलेर अस्मिता खड्का घाइते भएकी छन् र उनको बेल्टारस्थित नगर अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार आज बिहान करिब पौने ३ बजेतिर लक्ष्मी नारायण खड्काको घरबाट आगलागी सुरु भएको थियो। उक्त आगोले फैलिँदै रबिन कुमार दास र सकलदेवका घरसमेत पूर्ण रूपमा जलेका छन्। घटना हुँदा अधिकांश परिवारका सदस्यहरू सुतिरहेको अवस्थामा रहेका थिए।

त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिकाका दमकल, स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीको संयुक्त प्रयासमा आगो बिहान नियन्त्रणमा लिइएको थियो।

प्रारम्भिक अनुमानअनुसार विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने जनाइएको छ भने क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0