बिर्तामोड । झापाका एक युवाले पहिलो पटक स्केटिङ मार्फत लामो दुरीको यात्रा गरेका छन् । झापा कनकाई नगरपालिका वडा नं. ८ का १९ वर्षीय रोहित शाहले स्केटिङ मार्फत केदारनाथ र बद्रीनाथको यात्रा गरेका हुन् । उनले स्केटिङ मार्फत नेपाली युवाहरुले योभन्दा लामो दूरीको यात्रा नगरेको दावी गरे ।
कनकाईका युवा शाहले ४ हजार ५ सय किलोमिटर यात्रा स्केटिङ जुत्ता लगाएर गरेको जानकारी दिए । उनले पहिलो पटक केदारनाथ र बद्रीनाथको यात्रा गरेका उनी १ महिना १ दिनमा घर फर्किएका थिए । १५ दिन उनलाई पुग्न मात्रै लागेको थियो ।
सामान्य परिवारका शाहले लामो यात्रा गर्ने भनेपछि परिवारमा रुवाबासी चलेको थियो । घर फर्केर आउँछ कि आउदैन भन्ने चिन्ताले परिवारलाई सताएको थियो । केदारनाथ र बद्रीनाथमा नेपाली झण्डा फहराएर आएका उनले अब मेची महाकालीको यात्रा गर्ने तयारी थालेका छन् । जेठ १ गतेबाट मेची महाकालीको यात्रा तयारी गरिरहेका उनले गन्तव्यसम्म पुग्ने मात्र नभई देशलाई चिनाउने प्रतिक्रिया दिए । सो यात्राका लागि नयाँ स्केटिङ जुत्ता सहयोगको अपेक्षा समेत गरेका छन् ।
झापाको विभिन्न बजारसम्म स्केटिङ मार्फत घुमफिर गर्ने रोहितले इलामको कन्यामसम्मको यात्रा गरिसकेका छन् । जोखिमपूर्ण यात्रा मानिने भए पनि सुरक्षित रहेर यात्रालाई निरन्तरता दिने उनको योजना छ । केदारनाथ र बद्रीनाथसम्मको यात्रामा धेरै चोटपटक व्यहोरेका उनले ‘नेपाल टुर’ गरेरै छोड्ने संकल गरेका छन् ।
उनको आमा बाटौमा मकै पोल्ने र जुस बनाउने व्यवसाय गर्दै आएकी छन् । छोराको यात्रा सफलताले शाह परिवार हर्षित बनेको छ । छरछिमेकहरुले समेत लामो यात्रामा गरेको आशंकालाई रोहितले चिरिदिएका छन् । उनी घर फर्किएपछि घरमा बधाई दिनेहरुको ओइरो लागेको छ ।












