शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले बालमैत्री स्थानीय शासन अवलम्बन गर्दै बालमैत्री नगर घोषणा गर्ने तयारीलाई तीव्र बनाएको छ । नगरपालिकाले पहिलो चरणमा वडा नं. ४ र ५ लाई लक्षित गर्दै बालबालिकासँग सम्बन्धित विभिन्न सूचक पूरा गर्ने अभियान सुरु गरेको जनाएको छ ।

यसै क्रममा आज शिवसताक्षीको जनतामा वडा नं. ४ र ५ का बालबालिकाहरूको संयुक्त वडा भेला सम्पन्न भएको छ । भेलामा बालअधिकार, बालसहभागिता, बालसुरक्षा तथा बालमैत्री स्थानीय शासनका विषयमा छलफल गरिएको थियो ।

भेलालाई सम्बोधन गर्दै नगरप्रमुख मेगाहाङ थोप्रा ले बालमैत्री नगर घोषणा केवल औपचारिक प्रक्रिया नभई बालबालिकाको अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण अभियान भएको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, सुरक्षा, सहभागिता र संरक्षणजस्ता बालअधिकारका आधारभूत पक्षहरूलाई व्यवहारमै कार्यान्वयन गर्दै बालमैत्रीका सबै सूचक पूरा गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

नगरप्रमुख थोप्राले बालबालिकाको आवाजलाई स्थानीय सरकारको नीति तथा योजनासँग जोड्नुपर्नेमा जोड दिँदै बालमैत्री नगर निर्माणमा अभिभावक, शिक्षक, जनप्रतिनिधि र समुदाय सबैको साझा जिम्मेवारी रहने बताउनुभयो ।

कार्यक्रममा सहभागी बालबालिकाहरूले आफ्नो नेतृत्व विकास तथा अधिकार सुनिश्चितताका लागि “बाल वडा सञ्जाल” गठन गरेका छन् । सञ्जालमार्फत बालबालिकाका समस्या, सुझाव तथा आवश्यकताहरू स्थानीय तहसम्म पुर्‍याउने विश्वास लिइएको छ ।

नेपाल सरकारले तय गरेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाअनुसार स्थानीय तहले बालमैत्री घोषणा गर्न विभिन्न सूचक पूरा गर्नुपर्ने व्यवस्था छ । जसअन्तर्गत बालबालिकाको जन्मदर्ता सुनिश्चितता, विद्यालय भर्ना तथा नियमित उपस्थिती, बालश्रम न्यूनीकरण, बालविवाह नियन्त्रण, बाल हिंसा रोकथाम, सुरक्षित खानेपानी, सरसफाइ, बालमैत्री विद्यालय, खेलमैदान, स्वास्थ्य सेवा पहुँच तथा बालसहभागिता जस्ता सूचकहरू पूरा गर्नुपर्ने हुन्छ ।

बालमैत्री नगर घोषणा भएपछि स्थानीय तह बालबालिकाको हकहित संरक्षण, सुरक्षित वातावरण निर्माण र समग्र बाल विकासमा थप जिम्मेवार र उत्तरदायी बन्ने अपेक्षा गरिएको छ । शिवसताक्षी नगरपालिकाले आगामी दिनमा अन्य वडाहरूमा समेत यस्ता कार्यक्रम सञ्चालन गर्दै बालमैत्री नगर घोषणा प्रक्रियालाई अघि बढाउने जनाएको छ ।

कार्यक्रममा कार्यपालिका सदस्य यसोदा विमली, वडा सदस्य विमल लामिछानेले शुमकामना मन्तव्य राख्नु भएको थियो । वडाध्यक्ष विष्णुप्रसाद प्रसाईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समाजिक विकास शाखा प्रमुख महेश लामिछानेले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0