झापा । सरकारी सूचना तथा विज्ञापन वितरण नीतिप्रति असन्तुष्टि जनाउँदै नेपाल पत्रकार महासंघ झापा शाखाको वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभामा सहभागी वक्ताहरूले केन्द्रीकृत ढंगले सूचना र विज्ञापन वितरण गर्ने अभ्यासले स्थानीय सञ्चारमाध्यमलाई कमजोर बनाउने चेतावनी दिएका छन्।
शाखा अध्यक्ष एकराज गिरीको अध्यक्षता र महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वक्ताहरूले सरकारी निकायको वर्तमान नीतिले सूचना पहुँचमा असमानता सिर्जना गरेको धारणा राखे। उनीहरूले स्थानीय मिडियालाई बेवास्ता गर्दै सरकारी सञ्चारमाध्यमलाई मात्र प्राथमिकता दिने प्रवृत्ति सुधार गर्न आग्रह गरेका छन्।
प्रमुख अतिथि आचार्यले स्थानीय तहमा निजी सञ्चारमाध्यमले विश्वसनीय सूचना प्रवाह गरिरहेको उल्लेख गर्दै उनीहरूलाई सरकारी विज्ञापनबाट वञ्चित गर्नु अनुचित भएको बताए। उनले भने, “यसले पत्रकार मात्र होइन, आम नागरिकलाई पनि सूचनाबाट टाढा पुर्याउँछ।” ठेक्का–पट्टासम्बन्धी सूचनामा हुने कमिशन नियन्त्रणको प्रयास सकारात्मक भए पनि त्यसको नाममा स्थानीय मिडियालाई सूचना नदिनु लोकतान्त्रिक मूल्यविपरीत हुने उनको भनाइ थियो।
उपाध्यक्ष सुब्रत न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा अध्यक्ष गिरीले वार्षिक गतिविधि प्रस्तुत गर्दै वर्तमान नीतिले स्थानीय सञ्चारमाध्यमको अस्तित्वमै चुनौती थपेको बताए। उनले सामाजिक सञ्जालका सामग्रीलाई समाचारका रूपमा नलिन र आधिकारिक तथा प्रमाणित सूचनामा जोड दिन आग्रह गरे।
महासंघले स्थापना गरेको ‘सहारा पत्रकार उपचार कोष’लाई २ करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ। हालसम्म करिब १ करोड ३२ लाख रुपैयाँ संकलन भइसकेको जानकारी दिँदै गिरीले साधारणसभामै थप सहयोग प्राप्त भएको बताए।
कार्यक्रममा कोशी प्रदेश अध्यक्ष भरत खड्का, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, पूर्व महासचिव चन्द्र भण्डारी, पूर्व अध्यक्ष कृष्ण हुमागाईं, मोरङ अध्यक्ष सुशीला पाठक, प्रेस युनियन झापा अध्यक्ष गिरीराज भट्टराई, प्रेस चौतारी अध्यक्ष प्रदीप परियार र प्रेस सेन्टर अध्यक्ष पुष्प खड्कालगायतले पनि सरकारी विज्ञापन नीतिमा पुनर्विचार आवश्यक रहेको बताए।
सो अवसरमा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो। भद्रपुर प्रेस क्लब, १२१ पटक रक्तदान गरेका हल्दीबारी प्रेस क्लबका अध्यक्ष नेत्रविक्रम बिमली र महासंघलाई सहयोग गरेको भन्दै शिक्षक तथा पत्रकार रञ्जित परियारलाई नगदसहित सम्मान गरिएको छ।
लैङ्गिक पत्रकारितामा योगदान पुर्याएको भन्दै गृष्मा सापकोटालाई २५ हजार रुपैयाँसहित ‘लैङ्गिक समानता पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो। उक्त पुरस्कार विशेश्वर प्रसाद बजगाईं (विपीन) र विनिता–होमकला बजगाईंले स्थापना गरेका हुन्।
कार्यक्रममा महासंघद्वारा प्रकाशित ‘चौथो अङ्ग’ म्यागजिनको विमोचनसमेत गरिएको थियो। साथै बिर्तामोडस्थित होटल द किङ्सबरीकी कार्यकारी निर्देशक जानु धिताल र इष्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालयलाई कदरपत्र प्रदान गरिएको थियो।
सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी तथा सरोकारवालाको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रमको सञ्चालन महासंघका सचिव राजु पाठकले गरेका थिए।












