शिवसताक्षी  । शिवसताक्षी नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयहरूको समायोजन (मर्ज) तथा तह समायोजन प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। विद्यार्थी संख्या घट्दै जानु, स्रोत–साधनको प्रभावकारी उपयोग र शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यसहित यो प्रक्रिया सुरु गरिएको नगरपालिकाले जनाएको छ।

नगर कार्यपालिकाको कार्यालयले शिक्षा समितिको निर्णय कार्यान्वयनका लागि विभिन्न विद्यालयहरूलाई आवश्यक विवरण पेश गर्न निर्देशन दिएको हो। नगरपालिकाद्वारा जारी सूचनाअनुसार मिति २०८३ वैशाख २२ गते बसेको शिक्षा समितिको बैठकले केही विद्यालयहरूलाई समायोजन/मर्ज गर्ने तथा केही विद्यालयहरूको कक्षा तह घटाउने निर्णय गरेको छ।

उक्त निर्णयअनुसार सम्बन्धित विद्यालयहरूलाई विद्यार्थी संख्या, वडाको सिफारिस, अभिभावक भेलाको निर्णय, शिक्षक दरबन्दीको अवस्था लगायतका विस्तृत विवरणहरू २०८३ जेठ १५ गतेभित्र शिक्षा, युवा तथा खेलकुद शाखामा अनिवार्य रूपमा पेश गर्न भनिएको छ।

नगरपालिकाका अनुसार वडा नं. ४ का जनता र कनकाई, वडा नं. १० को बालज्योति तथा वडा नं. ६ को गौरीशंकर आधारभूत विद्यालयलाई समायोजन (मर्ज) गर्ने प्रस्ताव अघि सारिएको छ। त्यस्तै वडा नं. ९ का सतासी र शिव, वडा नं. ३ को पाथिभरा, वडा नं. २ को हिमालय र वडा नं. ६ को सरस्वती आधारभूत विद्यालयलाई प्रारम्भिक बालविकासदेखि कक्षा ३ सम्म सीमित गर्ने योजना रहेको छ।

यसैगरी, सहिद भीमनारायण विद्यालयलाई कक्षा ५ सम्म सञ्चालन गर्ने प्रस्ताव गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले यस कदमले विद्यालयहरूको प्रभावकारी व्यवस्थापन, स्रोत–साधनको समुचित उपयोग तथा गुणस्तरीय शिक्षामा पहुँच विस्तार हुने विश्वास व्यक्त गरेको छ। साथै, सरोकारवालासँग आवश्यक समन्वय गरी प्रक्रिया अगाडि बढाइने र निर्णय कार्यान्वयन गर्दा स्थानीय अभिभावक तथा समुदायको सुझावलाई समेत प्राथमिकता दिइने उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0