झापा । शिवसताक्षी नगरपालिकाले भलिबल खेलको विकास र दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रशिक्षण सुरु गरेको छ। नगरपालिकाले दूधे रंगशालामा आजबाट सुरु गरेको प्रशिक्षण जेठ ५ गतेसम्म सञ्चालन हुने जनाएको छ।
नगरका सबै वडाबाट छनोट गरिएका ३० जना खेलाडीलाई समेटेर सञ्चालन गरिएको प्रशिक्षणको उद्देश्य भलिबलमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नु रहेको छ। नगरप्रमुख मेगाहाङ थोप्राले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै भलिबललाई पनि फुटबल सरह विकास गर्ने नीति लिइएको बताए। “नगरपालिकाले सबै प्रकारका खेललाई समान प्राथमिकतामा राखेको छ, भलिबलमा पनि दक्ष खेलाडी उत्पादन गर्ने हाम्रो लक्ष्य हो,” उनले भने।

उनले दूधे रंगशालामा आवश्यक पूर्वाधार विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्ने वातावरण तयार पारिएको जानकारी दिए। यसअघि नगरपालिकाले सोही रंगशालामा प्याराफिट निर्माण गरी झापा महिला गोल्डकप सफलतापूर्वक आयोजना गरिसकेको उल्लेख गर्दै रंगशालालाई देश–विदेशमा चिनाउने काम भइरहेको उनको भनाइ थियो।
प्रशिक्षण कार्यक्रम १५ दिनसम्म सञ्चालन हुनेछ। राष्ट्रिय खेलाडी तथा एनएसएनआइएस (NSNIS) प्रमाणित प्रशिक्षक नविन रिजालले खेलाडीलाई प्रशिक्षण दिने संयोजक गौरव थापाले जानकारी दिए।













