शिवसताक्षी । झापा शिवसताक्षी–१ स्थित धरमपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १७औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ। सामाजिक उत्तरदायित्व र सामुदायिक सहकार्यलाई जोड दिँदै आयोजना गरिएका कार्यक्रमले स्थानीय स्तरमा उत्साह थपेको छ।
स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा १३ महिला र २७ पुरुष गरी जम्मा ४० जनाले रक्तदान गरेका छन्। कार्यक्रममा रक्तसञ्चार सेवा (ब्लड बैंक) दमकका इन्चार्ज ओमा श्रेष्ठ, प्रमुख सिद्धार्थ दाहाल लगायतका प्राविधिक टोलीको सहजीकरण गरेको थियो ।
यसै अवसरमा जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको प्रहरी बिट पुनर्निर्माण गरी शिवसताक्षी–१ धरमपुर चोकमा इलाका प्रहरी कार्यालय झिलझिलेलाई हस्तान्तरण गरिएको छ। उक्त प्रहरी बिट इलाका प्रहरी कार्यालयका वरिष्ठ सहायक निरीक्षक नारायण प्रसाद पौडेललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको धरमपुर बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता र असल ऋणीलाई सम्मानसमेत गरिएको छ। उत्कृष्ट बचतकर्तातर्फ भिमबहादुर थापा, फूलकुमारी चेम्जोङ र कुमारी लिम्बू सम्मानित भए भने असल ऋणीतर्फ दीपक श्रेष्ठ, देवेन्द्रकुमार आङदेम्बे र शान्ता खापुङ पुरस्कृत भएका छन्।
संस्थाका अध्यक्ष कुमार शंकरको अध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका सचिव विनोद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका पदाधिकारी, सञ्चालक सदस्य, लेखा सुपरिवेक्षण संयोजक, सल्लाहकार, उपसमिति सदस्य तथा शेयर सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।












