शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा दुई दिने कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिम सम्पन्न भएको छ । शिवसताक्षीको शिवगञ्जमा आयोजित दुई दिवसीय तालिम आइतबार सम्पन्न भएको हो ।

तालिमको समापन कार्यक्रममा बोल्दै नगरप्रमुख मेगाहाङ थोप्राले आधुनिक प्रविधिसँग युवाहरुलाई जोड्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता सम्बन्धी तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँले पछिल्लो समय विश्वभर एआईको प्रयोग तीव्र रूपमा बढ्दै गइरहेको अवस्थामा नेपालमा पनि यसको प्रयोग र सिकाइप्रति आकर्षण बढ्न थालेको जानकारी दिनुभयो ।

नगरप्रमुख थोप्राले सूचना प्रविधिको विकाससँगै एआई सम्बन्धी तालिम युवापुस्तादेखि विभिन्न पेशा व्यवसायमा आबद्ध व्यक्तिका लागि आवश्यक बन्दै गएको उल्लेख गर्दै यसले कामलाई छिटो, सहज र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

त्यस्तै उपप्रमुख  नरमाया कार्कीले तालिममा सहभागी युवा युवतीहरुलाई कृत्रिम बुद्धिमत्ताको सही र सकारात्मक प्रयोग गर्न सुझाव दिनुभयो ।

तालिममा शनिबार शिवसताक्षी नगरपालिका वडा नं. ४ र ५ का ३० जना तथा आइतबार वडा नं. ६ र ७ का ३० जना गरी ६० जना युवा युवतीहरुको सहभागिता रहेको थियो ।

तालिमको सहजीकरण प्रशिक्षक उमाकान्त खनालले गर्नुभएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । कार्यक्रममा वडा अध्यक्ष मनोज खुलाल कार्की, वडा सदस्य गोमा रिजाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

डिके टेक्निकल एण्ड कम्युटर साइबर शिवगञ्जको संयोजन तथा शिवसताक्षी नगरपालिकाको आयोजनामा तालिम सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0